२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


भूपूगोर्खा सैनिकहरुको गुनासो, भारतीय राष्ट्रपतिलाई ज्ञापनपत्र दिने तयारी


0
Shares

प्रदीप पौडेल (इमेज)
पोखरा, कात्तिक १७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा जाने तयारी गरिरहेकाबेला पोखरास्थित भारतीय भूतपूर्व गोर्खा सैनिकहरुले भने पेन्सन वितरण कार्यालयले आफूहरुलाई अनेक दुःख दिने गरेको गुनासो गरेका छन् ।

एक्स सर्भिसम्यान सेल, पोखराले बुधबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनीहरुले भारतीय सैनिकको मृत्यु भएपछि उसकी श्रीमतीले पेन्सन पाउन निकै झन्झट र कस्ट खेप्नुपर्ने गरेको बताएका हुन् ।

श्रीमान्को मृत्युपछि विवाहदर्ता, विवाहअघिको कागजात, जग्गाको लालपुर्जालगायतका डेढदर्जन कागजात बुझाउँदा पनि भूपूसैनिकका विधवाहरुलाई पेन्सन पाउन मुस्किल हुने गरेको बताए ।

सो अवसरमा सेलका संयोजक कर्णेल कमानसिंह गुरुङले दुईओटा नाम भएको अवस्था, जात वा थर परिवर्तन गरी भर्ती भएकाहरु, दोस्रो श्रीमती, इस्वी संवत् र विक्रम संवत्लगायतका विषयमा पेन्सन कार्यालयले दुःख दिने गरेको बताए ।

भूपूगोर्खा सैनिकहरुले भारतीय राष्ट्रपतिसमक्ष आफ्ना गुनासाहरु समेटेर ज्ञापनपत्र दिने तयारीसमेत गरेका छन् ।