
विष्णु नेपाल (रासस)
काठमाडौं, कात्तिक १७ । ‘गाउँछ गीत नेपाली, ज्योतिको पंखा उचाली… जय जय जय नेपाल, सुन्दर र शान्त विशाल …।’
हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु संगीतमा तरंगित भइरहेको थियो । खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुंगीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो ।
कालजयी यस राष्ट्रिय गीतका स्रष्टा राष्ट्रकवि माधव घिमिरे मुस्कुराउँदै मञ्चतर्फ लम्किए । ९० वर्ष पार गरिसकेका वयोवृद्ध राष्ट्रकवि घिमिरे लौरोको सहाराले मञ्चमा पुगे ।
मञ्चमा पाइला राख्नेबित्तिकै भारतका राष्ट्रपति प्रणव मुखर्जीले ‘कवि जी, हाउ आर यु ?’ भन्ने भलाकुसारीका शब्द उच्चारण गरे ।
अंग्रेजी भाषाका ज्ञातासमेत रहेका राष्ट्रकवि घिमिरेले जवाफमा भने–‘आई एम फाइन, योर एक्स्लेन्सी ।’
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणमा बुधबार काठमाडौं आएका हुन् ।
राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भएको एकघन्टाको औपचारिक भेटपछि राष्ट्रपति मुखर्जी काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित स्वागत् समारोहमा सहभागी हुँदाका क्षण हो यो ।
राजकीय निमन्त्रणामा आउने विशिष्ट व्यक्तिले आफ्नो दूतावासमा आयोजना गरिने स्वागत् समारोहमा आमन्त्रित पाहुनाहरुसँग भेटघाट गर्ने परम्परा रहिआएको छ ।
तत्कालीन भारतका राष्ट्रपति के आर नारायणन् र श्रीमती उषाले पनि नेपालको राजकीय भ्रमणका क्रममा भारतीय दूतावासमा आयोजित स्वागत् समारोहमा सहभागी हुँदा यसैगरी शीर्ष नेता, उद्योपति, कानुनविद्लगायत विशिष्ट व्यक्तिहरुसँग भलाकुसारी गरेका थिए ।
पूर्वराष्ट्रपति नारायणन्ले वि.सं. २०५५ जेठ १४–१६ मा नेपाल भ्रमण गरेका थिए ।
भ्रमणको पहिलो दिन नै भारतीय दूतावासले तत्कालीन राष्ट्रपति नारायणन्को सम्मानमा स्वागत् समारोह आयोजना गरेको थियो ।
राष्ट्रकवि घिमिरे स्वागत् समारोहका लागि मध्याह्न १२ बजे नै लैनचौरस्थित भारतीय दूतावासमा पुगेका थिए ।
‘जीवनमा मलाई बडो आनन्द मिल्यो’–राष्ट्रपति मुखर्जीसँग हात मिलाएपछि उनले रासससँग भने ।
दुई देशका राष्ट्रिय गानको धून बजाएर स्वागत् समारोह सुरु र अन्त्य गरिएको थियो ।
हँसिलो मुद्रामा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसँग राष्ट्रपति मुखर्जी मञ्चमा आसीन थिए । भेटघाटमा नेपालका लागि भारतका राजदूत रणजीत रायको सहभागिता थियो ।
मुखर्जीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइ दिने देउवाको विश्वास
भारतीय राष्ट्रपतिसँग नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गरेका छन् ।
भेटपछि सभापति देउवाले राष्ट्रपतिको भ्रमणमा सहभागी भएका भारतीय सन्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै भारतीय राष्ट्रपतिको यस भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
नेपाल–भारतबीचको सम्बन्ध सदियौं पुरानो रहेको र यस्ता विशिष्ट भ्रमणले जनस्तरको सम्बन्ध अझ सुदृढ हुने प्रतिक्रिया दिँदै उनले भने–‘नेपाल नयाँ संविधानको कार्यान्वयन गर्न लागिपरेको छ ।’
भारतीय राष्ट्रपति मुखर्जीसँग कांग्रेस महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला, सरकारमा सहभागी कांग्रेस र नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले भेट गरेका थिए ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, पूर्वसभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पनि भेट गरेका थिए ।
यसैगरी, भारतीय राष्ट्रपतिसँग भेट गर्ने अरु नेतामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतका थिए ।
त्यस्तै, राष्ट्रपति मुखर्जीसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भेट गरेका थिए ।
स्वागत् समारोहमा आमन्त्रित व्यक्तिहरुसँगको भेटघाटमा राष्ट्रपति मुखर्जीले करिब आधाघन्टा समय व्यतित गरे ।
सोहीक्रममा राष्ट्रपति मुखर्जीले इन्डियन हाउस गइ त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।
प्रतिक्रिया दिनुहोस्