२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


भारतीय राष्ट्रपति मुखर्जीद्वारा पशुपतिमा विशेष पूजा


0
Shares

काठमाडौं, कात्तिक १८ । नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

राष्ट्रपति मुखर्जी बिहान करिब सवा १० बजे पशुपतिनाथको मन्दिरमा पुगेर दर्शन गरेका हुन् । उनले वासुकीको पूजा गरी पशुपतिनाथमा विशेष पूजा आराधना गरे ।

राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

राष्ट्रपति मुखर्जीले करिब ४५ मिनेट लगाएर पशुपतिनाथको पूजाआराधना गरे । त्यसपछि उनले पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुसँग केहीबेर कुराकानीसमेत गरे ।

त्यसक्रममा राष्ट्रपति मुखर्जीले आफू ६ वर्षअघि पशुपतिनाथको दर्शन गर्न आउँदाभन्दा अहिले बागमती नदी सफा भएको भन्दै पशुपति क्षेत्र विकास कोषको प्रशंसा गरेका थिए ।

पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गरेका थिए ।

उनको स्वागतमा धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिएको कोषले जनाएको छ । विशेष पूजा सकेपछि उनले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे । त्यसपछि कोषकातर्फबाट उनलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।