
काठमाडौं, कात्तिक १८ । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले विहीबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
राष्ट्रपति मुखर्जी बिहान करिब सवा १० बजे पशुपतिनाथको मन्दिरमा पुगेर दर्शन गरेका हुन् । उनले वासुकीको पूजा गरी पशुपतिनाथमा विशेष पूजा–आराधना गरे ।
राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
राष्ट्रपति मुखर्जीले करिब ४५ मिनेट लगाएर पशुपतिनाथको पूजा–आराधना गरेका थिए । त्यसपछि उनले पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुसँग केहीबेर कुराकानीसमेत गरे ।
त्यसक्रममा राष्ट्रपति मुखर्जीले आफू ७ वर्षअघि पशुपतिनाथको दर्शन गर्न आउँदाभन्दा अहिले बागमती नदी सफा भएको भन्दै पशुपति क्षेत्र विकास कोषको प्रशंसा गरेका थिए ।
पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्तिवाचन गरेका थिए ।
उनको स्वागतमा धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजा एवं मौलिक धुन प्रस्तुत् गरिएको कोषले जनाएको छ । मुखर्जीले विशेष पूजा सकेपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।
त्यसपछि कोषकातर्फबाट उनलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्