
काठमाडौं, कात्तिक १९ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।
गत बुधबार नेपाल आएका मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिन् ।
मुखर्जीलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विमानस्थल पुगेका थिए ।
त्यसअघि, भारतीय राष्ट्रपति मुखर्जी पोखराबाट सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए ।
नेपालको तीनदिने बसाइका क्रममा भारतीय राष्ट्रपतिले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय हितका विषयमा वार्ता गर्नुका साथै प्रधानमन्त्री दाहाल, विभिन्न दलका नेताहरुसँग पनि भेटवार्ता गरे ।
भेटवार्ताका क्रममा मुखर्जीले नयाँ संविधान कार्यान्वयन गर्न नेपाल सफल हुने विश्वास व्यक्त गरेका थिए ।
उनले काठमाडौंको पशुपतिनाथ र जनकपुरको जानकी मन्दिरमा विशेष पूजा गरे भने काठमाडौं महानगरपालिका र जनकपुर उपहानगरपालिकाको नागरिक अभिनन्दन ग्रहण गरे ।
नेपाल भ्रमणका क्रममा मुखर्जी पर्यटकीय नगरी पोखरासमेत पुगे ।
प्रतिक्रिया दिनुहोस्