हेटौंडा, चैत १६ । मकवानपुरको हेटौंडामा सम्पन्न दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मकवानपुर–११ ले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा क्यामरुनको दाउफिन्स क्लबलाई २–१ ले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
दाउफिन्सका ओकोगोटाले खेलको पाँचौं मिनटमै गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।
तर, नवौं मिनेटमा मकवानपुरका योगेश गुरुङले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलको ८२औं मिनेटमा मकवानपुरका योगेश गुरुङले नै पुनः पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई च्याम्पियन बनाए ।
उपाधिसँगै मकवानपुर–११ ले ८ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको दाउफिन्सले चार लाखमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मकवानपुरका गोलरक्षक अशोक बरालले ७५ हजार रुपैयाँ हात गरे ।
८ टिमले सहभागिता जनाएको प्रतियोगिता यही चैत ८ गतेदेखि सुरु भएको थियो ।








प्रतिक्रिया दिनुहोस्