Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


तरुण महाधिवेशनः एकलौटी ढंगले अघि बढे सशक्त प्रतिकार गर्ने चेतावनी


0
Shares

काठमाडौं, कात्तिक २० । नेपाल तरुण दल असन्तुष्ट पक्षले यही कात्तिक २७ देखि २९ गतेसम्म हुने महाधिवेशन विधानसम्मत् गर्न माग गरेको छ ।

असन्तुष्ट पक्षले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा तरुण नेता रमेश खरेलले ७५ ओटै जिल्लाको अधिवेशन विधिसम्मत् ढंगले सम्पन्न गरेरमात्रै महाधिवेशनमा जानुपर्ने बताए ।

उनले भने–‘महाधिवेशन पाँचपटक मिति तोक्दै स्थगन गर्ने काम गरिएको छ, एकलौटी ढंगले महाधिवेशन गर्ने चेस्टा गरिए हामी कुनै हालतमा मान्दैनौं, समानान्तर समिति गठन गरी अगाडि बढ्छौं ।’

विधान तथा प्रचारप्रसार समितिका संयोजक मेदनी सिटौलाले वर्तमान नेतृत्वले आफूहरुलाई महाधिवेशन नै नचाहेको जसरी चित्रण गरेको भनी आपत्ति जनाए ।

दलका पूर्वअध्यक्ष विनोद कायस्थले तरुण दल अहिले पनि जनताको आस्थाको केन्द्र भएको जनाउँदै एउटा पक्षले अर्को पक्षलाई पेलेर जाने हो भने त्यसले संगठनलाई दीर्घकालीन असरपर्ने बताए ।

तरुण नेत्री लक्ष्मी खतिवडाले आफूहरु विधिवत् महाधिवेशनका पक्षमा रहेको बताउँदै विधि र प्रक्रियालाई मिचेर संस्थापन पक्ष एकलौटी ढंगले अघि बढे सशक्त प्रतिकार गरिने चेतावनी दिइन् । रासस

Skip This