ताप्लेजुङ, कात्तिक २० । ताप्लेजुङमा यो वर्ष कोदो उत्पादनमा गत वर्षको तुलनामा करिब १० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ ।
यो वर्ष मौसम अनुकूल रहेको र कुनै रोग तथा किराको प्रकोप नदेखिएकाले कोदो उत्पादनमा बृद्धि आउने अपेक्षा गरिएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको हो ।
धानपछि दोस्रो मुख्यबालीकोरुपमा रहेको कोदो उत्पादनमा बृद्धि हुने भएपछि जिल्लाका कृषक पनि हर्षित भएका छन् ।
मौसम अनुकूल रहेको र यस वर्ष असिना नपरेकाले जिल्लाका सबै क्षेत्रमा गरिएको कोदोखेती उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
यो वर्ष विभिन्न गाविसमा गरी ४० प्रतिशतभन्दा बढी उन्नत जातको कोदो लगाइएको थियो । ताप्लेजुङमा ६० प्रतिशतभन्दा बढी कृषक कोदोखेतीमा निर्भर छन् ।
कोदो यति नै उत्पादन भयो भन्ने यकिन तथ्यांक मंसिर पहिलो सातासम्ममा आउने कृषि विकास कार्यालयले जनाएको छ ।
ताप्लेजुङमा धान र मकैभन्दा कोदो बढी उत्पादन हुने गरेको छ । ताप्लेजुङमा कोदो पाथीको २ सय रुपैयाँमा बिक्री हुन्छ ।





प्रतिक्रिया दिनुहोस्