काठमाडौं, कात्तिक २१ । रक्षामन्त्री बालकृष्ण खाँडले नेपालमा भारत र चीनविरोधी गतिविधि हुन नदिने स्पष्ट पारेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खाँडले भारत र चीन दुवै मुलुक नेपालका असल छिमेकी भएकाले दुवै देशविरोधी गतिविधि नेपालमा हुन नदिने बताए । ‘दुवै देश हाम्रा उच्च महत्व बोेकेका छिमेकी मित्रराष्ट्र हुन्,’ उनले भने, ‘दुवै मुुलुक जनसंख्या र भूगोलको हिसावले विशाल मुलुक हुन् ।’
उनले भारत र चीनको विकासको लागि पनि छिमेकी मुलुकमा शान्ति र स्थिरता हुन आवश्यक भएकोले चीन र भारत दुवै देशको विकास होस भन्ने आफूहरुको चाहना रहेको बताए ।
मन्त्री खाँडले भने, ‘नेपाल दुवै विशाल छिमेकी मुलुकहरुको बीचमा छ, यसको धेरै ठूलो रणनैतिक महत्व छ, नेपालले संसारका कुनैपनि देशको खिलाफमा विरोधी गतिविधि हुन दिनुहुँदैन र नेपालमा चीन र भारतको विरुद्धमा कुनै पनि खालका विरोधी गतिविधि गर्न दिनुहुँदैन ।’
उनले त्यसको लागि नेपालले भारतीय र चिनियाँ सरकार र जनतामा कुनै शंका उपशंका गर्न दिन नहुने जिकिर गरे । उनले भने, ‘त्यसैले हाम्रो निश्कर्ष भनेको नै नेपालमा भारत र चीनविरोधी गतिविधि गर्न दिनुहुँदैन, त्यही अनुसार नै हामी उच्च सतर्कताका साथ अघि बढिरहेका छौं ।’
एक अर्को प्रसंगमा उनले संघीय संरचना अनुुसार नै ७ प्रदेशमै नेपाली सेनाको उपस्थिति होस् र सेनाको सञ्चालन केन्द्रिय संघीय सरकारले नै गर्ने र समन्वयकारी भूमिकाको लागि ७ वटै प्रदेशमा उपस्थिति होस् भन्ने सेनाको सोचाईलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताए ।
मन्त्री खाँडले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण अत्यन्तै फलदायी र ठूलो उपलब्धि भएको दाबी गरे । उनले अघि थपे, ‘भारतीय राष्ट्रपतिको नेपाल आगमन हुनु नेपालको लागि ठूलो उपलब्धि हो, नेपाल र भारतवीच भएको मैत्री सम्बन्धलाई नयाँ आयाम थप्न यसले महत्वपूर्ण भूमिका खेलेको छ।’
राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणसँगै नेपालले जुनसुकै राष्ट्रका राष्ट्रपति वा प्रधानमन्त्री नेपाल आउँदा सुरक्षा गर्न सक्छ भन्ने सन्देश विश्वभरि प्रवाह भएको समेत उनले बताए । ‘नेपाल सुन्दर, शान्त अनि सुरक्षाको दृष्टिकोणले पनि अत्यन्तै सफल छ है भन्ने सन्देश विश्वभरि नै प्रवाह भएको छ, यो सन्देश विश्वभरका पर्यटकहरुलाई गएको छ,’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्