फाइल फोटो
काठमाडौं, कात्तिक २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार बिहान मानवअधिकारकर्मीको टोलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्र रक्षाका लागि पनि व्यवस्थापिका–संसदमा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने बताए ।
‘प्रमुख दलका शीर्ष नेता महाभियोगकै पक्षमा हुनुहुन्छ, पारित गर्नेबारे आन्तरिक गृहकार्य भइरहेको छ’–उनले भने ।
वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा गएको मानवअधिकारकर्मीको टोलीले संविधानको प्रस्तावनामा अहिंसा शब्द थप गर्नुपर्ने, मानवअधिकार उल्लंघनका दोषीलाई भविष्यमा कुनैपनि पदमा नियुक्त गर्न नहुने र लागुऔषधविरुद्ध राष्ट्रिय अभियान थालनी गर्नुपर्ने माग गरेको छ ।
टोलीले भारत–पाकिस्तानबीचको तनावमा सहजीकरण गर्नुपर्ने, छिट्टै स्थानीय तहको निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने, जलवायु परिवर्तनबारे आयोग बनाएर काम गर्नुपर्नेलगायतका विषय पनि अघि सारेको छ ।
त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले ‘काठमाडौंलाई विद्युत्भार कटौतीमुक्त बनाउने’ योजनाबारे नेपाल विद्युत् प्राधिकरणसँग खाका ल्याउन निर्देशन दिएका छन् ।
सोमबार बिहान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले उपत्यकालाई तत्कालै विद्युत्भार कटौती गर्ने आफ्नो संकल्पअनुरूप अघि सारेको ‘काठमाडौंलाई विद्युत्भार कटौती बनाउने’ योजनामा सहयोग गर्न निर्देशन दिए ।
नयाँ योजना सन्चालनका लागि तयारी गर्न, विद्युत् चोरी, बक्र्यौता नतिर्नेजस्ता समस्या समाधान गर्न, देशलाई विद्युत्भार कटौती गर्ने कार्ययोजना तयार गर्न र ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्नसमेत प्रधानमन्त्री दाहालले निर्देशन दिए ।
सोही अवसरमा निर्देशक घिसिङले प्राधिकरणले उपत्यकामा लोडसेडिङ अन्त्य गर्दै देशभरि नै अन्त्य गर्ने कार्ययोजना ल्याउने तयारी गरिरहेको जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्