Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


काठमाडौं उपत्यका यसरी हुँदैछ लोडसेडिङमुक्त


0
Shares

रमेश लम्साल (रासस)
काठमाडौं, कात्तिक २२ । नेपाल विद्युत् प्राधिकरणले सधैं निकाल्ने विद्युत्भार कटौतीको सूचना यसपटक भने फरक भएको छ ।

सधैं विद्युत्भार कटौतीको सूचनामात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिकरुपमा काठमाडौं उपत्यकालाई विद्युत्भार कटौतीमुक्त घोषणा गरेको छ ।

पर्याप्त विद्युत् उपलब्ध भएर यस्तो घेषणा गरेको नभइ राजधानीमा उपलब्ध भएको विद्युत्लाई व्यवस्थापनमात्रै गरिएको हो ।

उपलब्ध विद्युत्लाई व्यवस्थापन गरेकै कारण विद्युत्भार कटौतीमुक्त गर्ने अभियान साकार भएको प्राधिकरणले जनाएको छ ।

यसअघि उपलब्ध विद्युत्को व्यवस्थापनमा सुधार नगरिएका कारण विद्युत्भार कटौतीको सूचना पटक–पटक सार्वजनिक गर्नुपरेको थियो ।

काठमाडौं उपत्यकामा बढी विद्युत् माग हुने साँझको समयमा करिब ३०० मेगावाट विद्युत् आवश्यक पर्छ । मागअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरणले आन्तरिक व्यवस्थापनमा सुधार गरिएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मागअनुसार विद्युत् उपलब्ध गराउने सरकारको र प्राधिकरणको योजनालाई साकार पार्न आन्तरिकरुपमा व्यवस्थापन गरिएको बताए ।

यही तिहारको लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युत् माग भएको थियो । एक हजार ४८५ मेगावाट विद्युत् उक्त दिन माग भएको प्राधिकरणको भारप्रेषण केन्द्रले जनाएको छ ।

उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको वितरण प्रणाली एकापसमा जोडिएको र वितरणसमेत सहज रहेकाले विद्युत्भार कटौतीमुक्त गर्न सहज भएको हो ।

भारतबाट आयात गरिएको विद्युत् काठमाडौं उपत्यकामा नल्याइएपनि मर्स्याङ्दी करिडोरमा उत्पादित विद्युत् भने सहजरुपमा भित्र्याइएको छ । सो प्रणालीबाट करिब दुई सय मेगावाट विद्युत् आपूर्ति हुने गर्दछ ।

यस्तै, बढी माग हुने साँझको समयमा जगेडा शक्तिकारुपमा रहेको कुलेखानी आयोजना चलाइएको प्राधिकरणले जनाएको छ । साँझको समयको माग तीन सय मेगावाट भएकाले सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको भनाइ छ ।

काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकको पाँचखालसम्म उद्योग–व्यवसायमा करिब १२ मेगावाटमात्रै विद्युत् खपत हुने गरेको छ ।

उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गर्ने योजना सफल बनाउन उपत्यकाको वितरण प्रणालीलाईसमेत सुधार गरिएको छ । बिग्रिएका र मर्मत गर्नुपर्ने ट्रान्सफर्मर तथा कन्डक्टरलाईसमेत सुधार गरिएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै पुष्पकमल दाहालले एकाध समयभित्रै उपत्यकालाई परीक्षणकारुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना सार्वजनिक गर्न ऊर्जा मन्त्रालयमार्फत् प्राधिकरणलाई निर्देश गरेका थिए ।

सोमबारमात्रै प्रधानमन्त्री दाहालले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बोलाएर तत्काल विद्युत्भार कटौतीमुक्त कार्ययोजनालाई कार्यान्वयन गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीको निर्देशनपछि कार्यकारी निर्देशक घिसिङले परीक्षणकारुपमा उपत्यकामा विद्युत्भार कटौतीमुक्त गर्ने अभियान सुरु भइसकेको र त्यसलाई केही समयपछि पूर्णता दिइने बताए ।

ऊर्जामन्त्री जनार्दन शर्मा उपत्यकापछि क्रमशः मुलुकलाई नै विद्युत्भार कटौतीमुक्त गर्ने कार्ययोजना अगाडि बढाइएको बताउँछन् ।

आगामी हिउँदमा भारतबाट थप २५० मेगावाट विद्युत् ल्याउने पहल भइरहेको छ । त्यसका लागि धनुषाको ढल्केबरका सवस्टेसनको काम युद्धस्तरमा अगाडि बढिरहेकाले आगामी पुस मध्यसम्ममा उक्त सवस्टेसनको काम सम्पन्न हुनेछ ।

दुई वर्षमा सम्पन्न गर्नुपर्ने सवस्टेसनको काम दुई/तीन महिनामा सम्पन्न गर्नुपर्दा अलिक गाह्रो भएपनि सफल हुने कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।

काठमाडौं उपत्यकामा थप विद्युत् ल्याउन खिम्ती ढल्केबर प्रसारणलाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ भने थानकोट मातातीर्थ–हेटौंडा प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै, उपत्यकामा सुधार गर्नुपर्ने वितरण प्रणाली तथा अन्य प्राविधिक विषयलाईसमेत सुधार गर्ने प्राधिकरणको योजना छ ।

यस्तै, चुहावट नियन्त्रण तथा बक्यौता रकम उठाउने कामलाईसमेत निरन्तरता दिने र निर्माणमा रहेका आयोजनालाई तत्काल सम्पन्न गर्नेसमेत प्राधिकरणले तयारी गरेको छ ।