फाइल फोटो
काठमाडौं, कात्तिक २२ । शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि एक हजार ६९ जनाले आरोहण अनुमति लिएका छन् ।
यो मौसम (असोज र कात्तिक) पर्वतारोहणका लागि उपयुक्त भएकाले उल्लेख्य संख्यामा आरोही पर्वतारोहणका लागि जाने गर्छन् ।
आरोहण अनुमति यो महिनाभर लिने भएकाले आरोहीको संख्या अझै बढ्ने पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।
तुलनात्मकरुपमा यो वर्ष कमैले आरोहण अनुमति लिएका छन् । विभागकाअनुसार सन् २०१४ मा एक हजार ३८५ जनाले आरोहण अनुमति लिएका थिए ।
सन् २०१५ मा नेपाल पर्वतारोहण संघ (एनएमए)सहित दुई हजार ७२० जनाले आरोहण अनुमति लिएका थिए ।
यो मौसममा सर्वोच्च शिखर सगरमाथाबाहेक मनास्लु, कन्चनजंगा, धौलागिरि अमा दबलाङलगायतका हिमाल तथा पिक आरोहण गर्न आरोही गएका छन् ।
केही समूहले मनास्लु हिमाल आरोहण गरे पनि आधिकारिक जानकारी नआइसकेको विभागले जनाएको छ ।
वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३७५ जनाले सगरमाथासहितका हिमाल आरोहण अनुमति लिएका थिए । जसमध्ये २८९ जनाले सगरमाथा आरोहण गरेका थिए ।
वर्षका सबै चार याम (वसन्त, बर्खा, शरद र हिउँद)मा आरोहण हुने गरेको छ । रासस





प्रतिक्रिया दिनुहोस्