१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


जाजरकोटमा सात स्थानीय तहको प्रस्ताव


0
Shares

                                                                       फाइल फोटो

जाजरकोट, कात्तिक २२ । जाजरकोटमा राज्य पुनःसंरचनाका लागि तीन नगरपालिका र चार गाउँपालिकासहित सात स्थानीय तहको प्रस्ताव गरिएको छ ।

प्राविधिक समिति र स्थानीय राजनीतिक दलहरुको सोमबार बसेको संयुक्त बैठकले सर्वसम्मतिमा स्थानीय निकायको संख्या सीमा र नामको टुंगो लगाएको स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताए ।

स्थानीय प्राविधिक समितिका संयोजक गौतमको अध्यक्षतामा बसेको बैठकले पूर्वमा पाँच गाविस समावेश गरेर नलसिंहगाड नगरपालिका, सदरमुकाम खलंगा रहेको साबिकको भेरीमालिका नगरपालिकाको नाम परिवर्तन गरी भेरी नगरपालिका र पश्चिममा ६ गाविस समावेश गरी छेडागाड नगरपालिकाको सिफारिस गरेको छ ।

त्यस्तै, चार गाउँपालिकामा बारेकोट, कुसे, कचाली र जुनीचाँदे वा भैरीचाँदे गाउँपालिकाको नाम विशेष गाउँपालिकाकारुपमा सिफारिस गरिएको छ ।

संयोजक गौतमकाअनुसार भेरी नगरपालिकाको केन्द्र खलंगा, नलगाड नगरपालिकाको केन्द्र दल्ली र छेडागाड नगरपालिकाको मनघाट केन्द्र तोकिएको छ ।

त्यस्तै, बारेकोट विशेष गाउँपालिकाको लिम्सा, कुसे विशेष गाउँपालिकाको धारापानी वा वाटुल्ले, शिवालय विशेष गाउँपालिकाको सेवाला र जुनीचाँदे विशेष गाउँपालिकाको केन्द्र लुहादह वा सानाखोलामा रहने वैकल्पिक व्यवस्थासहित सिफारिस गरिएको छ । रासस