Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


आर्थिक अनुसन्धान संस्थाहरुको दक्षिण एसियाली सम्मेलन काठमाडौंमा सुरु


0
Shares

काठमाडौं, कात्तिक २२ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले दक्षिण एसियामा क्षेत्रगत एकता हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा आर्थिक अनुसन्धान संस्थाहरुको दक्षिण एसिया सञ्जाल ‘सेनी’को १४औं वार्षिक सम्मेलनका क्रममा मन्त्री महतले दक्षिण एसिया आशाजनक अवसर, प्राकृतिक तथा मानवीय स्रोत–साधन, महान् सभ्यता तथा बौद्धिक परम्पराको क्षेत्र रहेको बताए ।

अत्यधिक अवसरका बाबजुद् पनि दक्षिण एसिया क्षेत्र विश्वकै न्यूनतम् एकीकृत क्षेत्रकोरुपमा रहनु ठूलो विडम्वना भएको उनले उल्लेख गरे ।

यस क्षेत्रमा विकास गतिशीलता कायम गर्न तथा लाभदायक रोजगारी सिर्जना गर्न क्षेत्रगत लगानी सहकार्य जरुरी रहेको र यो क्षेत्रगत एकताबाट नै सम्भव भएको उनले बताए ।

उनले दक्षिण एसिया क्षेत्रमा व्याप्त व्यापार अवरोधलाई पनि हटाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पूर्वाधारमा बढीभन्दा बढी लगानी भएमा क्षेत्रगत एकता छिटोभन्दा छिटो कायम हुनसक्ने बताए ।

नेपाल राष्ट्र बैंकले नेपालमा स्थीर आर्थिक वातावरण तयार गर्न दूरदर्शी मौद्रिकनीति तथा वित्तीय अनुशासन कायम गरेको उनले बताए ।

अर्थविद् डा. विश्वम्भर प्याकुरेलले यस क्षेत्रमा विशिष्ट उत्पादन हब बनाउनुपर्नेमा जोड दिए ।

सेनीका संयोजक तथा इन्स्टिट्युट फर इन्टरग्रेटेड डेभलपमेन्ट स्टडीजका कार्यकारी निर्देशक डा. विष्णुदेव पन्तले आपसी सहकार्य तथा आर्थिक एकताबाट दक्षिण एसियामा रहेको बृहत् सम्भावनाको सदुपयोग गर्न सकिने बताए ।

सेनीमा दक्षिण एसियाली देशहरुका ६९ ओटा अनुसन्धान संस्थाहरु सम्मिलित छन् ।