-सिता पाण्डे, ईमेज
पाल्पा, कात्तिक २३ । जाँगर र परिश्रमले स्वदेशमै सफल उद्यमी बन्न सकिने उदाहरण बनेका छन् पाल्पा बौघा पोखराथोकका १ सय ३२ जना युवा ।
बैदेशिक रोजगारीको दुख पीडा सहन नसकी फर्केका उनीहरुले यतिखेर जिल्लामै गाइपालन व्यवसायबाट मनग्ये आम्दानी गर्न सफल बनेका हुन् ।
पाल्पामा विगत ४/५ बर्ष यता गाइपालन व्यवसायमा युवाहरुको आकर्षण बढेको छ । जिल्लाको मस्याम, मदनपोखरा, बौघापोखराथोक, रामपुर, खालीवन लगायत १६ स्थानमा ५ देखि ७० वटा सम्म गाइफार्म स्थापना भएका छन् ।
यस्तै १२ स्थानमा समुहबाट व्यवसायीक डेरी पकेट कार्यक्रम सञ्चालन भएको छ । बैदेशिक रोजगारबाट फर्केर गाईपालन व्यवसाय सुरु गरेको व्यवसायीहरु बताउँछन् ।
गाईपालन व्यवसाय गरेका युवाहरु शुरुमा सानो लगानीमा गाईपालन व्यवसाय शुरु गरेपनि व्यवसायलाई विस्तारै बढाउँदै लगेका छन् ।
आफनै देशमा परिश्रम गर्ने हो भने विदेशमा गएर कमाउने पैसा देशमै कमाउन सकिने युवा व्यवसायिहरुको भनाइ छ ।
व्यवसायीक गाइपालनबाट मासिक ३० हजार देखि ८० हजार सम्म आम्दानी गर्ने युवा कृषकहरु रहेका छन् । जिल्लामा ७३ वटा पशुफर्म जिल्ला पशु सेवा कार्यालयमा दर्ता रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा पछिल्लो समय दुधमा आत्मनिर्भर हुँदै गएको र पोखरा, काठमाडौँ लगायतका बजारमा निर्यात हुँदै आएको समेत पशु सेवा कार्यालयले जनाएको छ ।
जिल्ला पशु विकास कार्यालयले व्यवसायीक फर्मलाई प्रोत्साहित गर्न १ लाख देखि २ लाख अनुदान दिने गरेका कारण पनि यो व्यवसाय विस्तार हुंदै गएको पशु विकास कार्यालयका प्रमुख तुल्सी राम भण्डारी बताउँछन् ।
जर्सीक्रस र होलस्टेन गाइले १ पटकमा १६ देखि १८ लिटर सम्म दुध दिने गर्दछ । केही बर्ष यता मेसिनले गाइको दुध दुहुने प्रविधीको विकास संगै कृषकहरुलाई समयको बचत र सहजता ल्याएको पाइएको छ ।
पशु विकास कार्यालयले दुध दुहुने मेसिन चिलिङ्गभ्याट, डिफ्रिज, घाँसको विउ र विरुवामा समेत अनुदान सहयोग दिने गरेको कृषक बताउंछन् ।
गाई पालनमा व्यवसायीकरण भएपछि जिल्लामा बार्षिक ४६ हजार ३ सय १७ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ ।
दुध उत्पादन बढेपछि बार्षिक १ करोड ६५ लाख बराबरको ३ सय ६७ मेट्रिक टन दुध बुटवल, पोखरा र काठमाडौंसम्म निकाशी हुने गरेको पशु विकास कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्