काठमाडौं, कात्तिक २३ । साझा प्रकाशनले एक दशकपछि लेखापरीक्षण सम्पन्न गरी आगामी तीन महिनाभित्र सार्वजनिक गर्ने भएको छ ।
प्रकाशनले आर्थिक वर्ष २०६२/६३ देखि २०७२/७३ सम्मको लेखापरीक्षण पूरा गरी तीन महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको हो ।
हाल विभिन्न १५ शाखा कार्यालय र बिक्री केन्द्रको आन्तरिक लेखापरीक्षण गर्न कर्मचारी खटाइएको छ ।
हालसम्म तीनओटा कार्यालयको लेखापरीक्षण सम्पन्न भएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।
लेखापरीक्षण गर्दा कतिपय कर्मचारीबाट अनियमितता गरेको रकम संस्थाले लिनुपर्नेसमेत देखिएको छ ।
एकातिर संस्था ऋणमा डुबेका कारण ६ महिनादेखि तलब खान नपाएको भनिनु र कतिपय कार्यालयमा तलब खाएर पनि उल्टै संस्थाले रकम लिनुपर्ने हुनाले थप छानबिन गर्नुपर्ने अवस्था आएको उनले बताए ।
‘विगतका अनियमितताको छानबिनका लागि समिति गठन गरी काम भइरहेको छ’–शर्माले भने ।
गत साधारणसभामा ६ महिनाभित्र लेखापरीक्षण सार्वजनिक गर्ने प्रतिबद्धता व्यवस्थापनले गरेको थियो ।
साझा प्रकाशन बचाउन सरकारले ऋण र अनुदान गरी रु ४० करोड दिने प्रतिबद्धता जनाएसँगै सन्चालक समिति र कर्मचारीमा उत्साह थपिएको छ । रासस





प्रतिक्रिया दिनुहोस्