Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


भाटभटेनी कम्प्लेक्समा सिलबन्दी


0
Shares

भक्तपुर, कात्तिक २३ । नगरपालिकाको नियम र मापदन्डविपरीत भवन निर्माण सुरु गरेको भन्दै मध्यपुरथिमि नगरपालिकाले निर्माणाधीन ‘भाटभटेनी हाइपर मार्केट प्रालि’मा मंगलबार सिलबन्दी गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–८ र ११ मापर्ने अरनिको राजमार्गखन्डस्थित थिमिको राधेराधेसँगै सिट नम्बर–१०२–११९१–२३, कित्ता नम्बर–४७८ र ५ नम्बरको पाँच हजार ७५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त प्रालिको भवन निर्माणकार्य रोक्दै निर्माणस्थलमा सिलबन्दी गरेको हो ।

सुपरमार्केट सन्चालन गर्ने उद्देश्यले केही महिनादेखि भवन निर्माण सुरु गरिएको थियो । सिलबन्दीसँगै मंगलबारबाटै भवन निर्माणको काम ठप्प भएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले नागरिकको प्रत्यक्ष आवत–जावत हुने ठूलो कम्प्लेक्स बनाउँदा नगरपालिकाको मापदन्ड पूरा नगरेको, नक्सापास नगरेको र मनोमानी ढंगले निर्माणकार्य अगाडि बढाएकाले सिलबन्दी गरेको बताए ।

‘नक्सा पासको प्रक्रिया नपुर्‍याइ निर्माणकार्य सुरु गरियो, पटक–पटक निर्माण रोक्न आग्रह गर्दा अटेर गरेकाले कानुनी दायरामा ल्याउन सिलबन्दी गर्नुपरेको हो’–उनले भने ।

प्रालिका योजना प्रबन्धक प्रशान्त झाले नगरपालिकामा नक्सापास गर्न फाइल पेस गरेपनि ढिलाइ गरेकाले निर्माणकार्य अगाडि बढाएको बताए ।

सरकारी मापदन्ड पूरा गरेरै निर्माणकार्य अगाडि बढाएको उनले दाबी गरे । रासस