फाइल फोटो
खोटाङ, कात्तिक २३ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत् आयोजनालाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन् ।
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणकाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग मंगलबार खोटाङ आएका निर्देशक घिसिङले दूधकोसी जलविद्युत् आयोजनालाई तामाकोसीकै मोडलमा सन्चालन गरिने जानकारी दिए ।
सांसद पाँचकर्ण राई (पिके)लगायत जिल्लावासीले दूधकोसी जलविद्युत् आयोजनालाई राष्ट्रिय महत्वको आयोजनाकारुपमा राखेर कामलाई तीव्रता प्रदान गर्न माग राखेपछि घिसिङले आयोजनालाई स्वदेशी मोडलमा सन्चालन गर्न कम्पनी दर्ता गर्ने तयारी भइरहेको बताए ।
खोटाङको लामीडाँडास्थित रभुवाघाटबाट उत्पादन गर्न लागिएको ३०० मेगावाट क्षमताको सो आयोजना रहेको छ ।
तीन वर्षअघिदेखि प्रक्रिया थालिएको दूधकोसी जलविद्युत् आयोजनाका लागि अहिले सम्भाव्यता अध्ययन, इन्जिनियरिङ डिजाइनिङ, जलाशय परीक्षणलगायतका काम भइरहेको छ । रासस





प्रतिक्रिया दिनुहोस्