
चितवन, कात्तिक २४ । चितवन जिल्ला अदालतले मङ्गलबारका लागि तोकेको फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अन्तिम फैसलाको मिति सरेको छ ।
कात्तिक ५ गते वादी, प्रतिवादी र जाहेरवालाका तर्फबाट लिखित बहस नोट पेस भएपछि अन्तिम फैसला मङ्गलबारका लागि तोकिएको थियो ।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार सो मुद्दा हेर्दै आउनुभएका अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर बिदामा रहेकाले मुद्दाको अन्तिम फैसला मंसिर १२ गते हुने भएको हो । न्यायाधीश कुँवरको आदेशअनुसार वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र सहायक न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले लिखित बहसनोट पेस गरेका छन् ।
त्यसैगरी, प्रतिवादीका तर्फबाट १० र जाहेरवालाका तर्फबाट १० जना अधिवक्ताले लिखित बहस नोट पेस गरेको बरालले बताए । यसअघि वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट १२ जनाले बहस गरेका थिए । असोज २ गते जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौँको वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीसँग बकपत्र गरी अदालतमा प्रतिवेदनसहित पेस गरेका थिए ।
सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा विसं २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यसपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।
जिल्ला अदालत चितवनले २०७१ साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारेखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आइएको छ र अर्का विष्णु तिवारी फरार आएका छन् ।
सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल समेत फरार भएका छन् । अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल (अजीव) लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटीमा तारेखमा छाडेको छ ।
त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटी राख्न लगाई तारेखमा छाडेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्