Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नेपालमा रहेको ५ सय र एक हजारका भारतीय नोट के गर्ने ?


0
Shares

काठमाडौं, कात्तिक २४ । भारत सरकारले मंगलबार रातिदेखि लागू हुने गरी भारतीय ५ सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएसँगै नेपालमा रहेको भारतीय रुपैयाँबारे अन्योल बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार बिहान १० बजेदेखि नै कारोबार नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनपछि सर्वसाधारणसँग रहेको ५ सय र एक हजारका नोट के गर्ने भन्ने विषयमा टुंगो लागेको छैन ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भारतीय केन्द्रीय बैंक र भारत सरकारसँगको छलफलपछिमात्रै नेपालमा रहेको भारतीय नोटबारे निर्णय गर्न सकिने बताए ।

भारत सरकारले भारतमा यी नोट प्रतिबन्ध लगाएका कारण नेपालमा रहेको भारतीय नोट के गर्ने ? भन्ने पनि उनीहरुसँग छलफल भएपछिमात्रै थाहा हुने पौडेलले बताए ।

हाल बैंकिङ प्रणालीमा कति नोट छन् ? भन्ने जानकारी राष्ट्र बैंकले लिइरहेको उनले बताए ।

थापाथलीस्थित कार्यालयमा करिब २ लाखभन्दा कम यस्ता नोट रहेको र अरु शाखामा रहेको नोटको विवरण प्राप्त भइ नसकेको राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा भारतीय ५ सय र एक हजार नोटको कारोबार खुला गरिएको धेरै समय नभएका कारण धेरै रकम भने नरहेको राष्ट्र बैंकको अनुमान छ ।

हालसम्म २ करोडको हाराहारीमा ५ सय र एक हजार भारतीय नोट रहेको पाइएको उनले बताए । बैंक तथा वित्तिय संस्थाबाट पुरै विवरण आइ नसकेको उनले बताए ।

भारत सरकारको पछिल्लो निर्णयले यी नोट सटहीमा केही समस्या आउने भएपनि नेपालको अर्थतन्त्रमा भने तत्काल कुनै असर नपर्ने प्रवक्ता पौडेलले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै कालोधन, भ्रष्टाचार र नक्कली नोटका कारण भारतमा समस्या उब्जिएको भन्दै ५ सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।