जितेन्द्र भण्डारी
फिदिम, कात्तिक २५ । पाँचथरको रानीटारमा हवाई मैदान बनाउन विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको तीन वर्ष हुँदा पनि निर्माण प्रक्रिया शुरु भएको छैन । रानीटार–५ र ६ को सङ्गमस्थलमा पर्ने स्याउडाँडामा हवाई मैदान निर्माणार्थ स्थानीयस्तरबाट आवश्यक प्रक्रिया पूरा गरिए पनि सरोकारवाला निकायले ठोस काम नगर्दा काम अघि बढ्न नसकेको हो ।
मैदानका लागि आवश्यक पर्ने करिब ४ सय २५ रोपनी मध्ये ८० प्रतिशत जग्गा स्थानीयवासीले उपलब्ध गराउन मञ्जुरिनामा दिइसकेको भए पनि सरकारी मातहतमा ल्याउन पहल नहुँदा कामले गति लिन नसकेको हो ।
स्थानीयस्तरमा आवश्यक तयारी पूरा गरेपछि मन्त्रिपरिषद्को २०६९ असोज २८ गते बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्याउडाँडामा विस्तृत अध्ययन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार प्राधिकरणले सोही वर्ष सर्भेक्षण सकेको थियो । तर डिपिआर सम्पन्न भएको तीन वर्ष बित्दा पनि स्थानीयवासीले उपलब्ध गराएको जग्गा सरकारी स्वामित्वमा ल्याउने र हवाई मैदानका लागि पूर्वाधार निर्माण गर्ने काम सुरु नहुँदा निराश हुनु परेको रानीटार हवाई मैदान निर्माण उपभोक्ता समितिका सचिव राजकुमार गुरुङ बताउँछन् ।
स्थानीयले हवाई मैदान निर्माण हुने आशाले जग्गा समेत उपलब्ध गराए पनि अहिलेसम्म राज्यले कुनै पहल अघि बढाउन नसकेको स्थानीयको गुनासो छ । उक्त स्थानमा हवाई मैदान निर्माणका लागि उपयुक्त हुने विभिन्न अध्ययन प्रतिवेदनले स्पष्ट रुपमा उल्लेख गरेका छन् ।
स्थानीयवासीले उत्साहका साथ लिएको हवाई मैदान निर्माणका लागि जिल्लाकै महत्वपूर्ण विकास योजनाका रुपमा अगाडि बढाउनका लागि प्रयास गरिए पनि जिल्लाका राजनीतिक दल र जिविसजस्ता सरोकारवाला निकायले उक्त कामलाई उच्च प्राथमिकतामा नराख्दा काममा ढिलाइ भएको हवाई मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकप्रसाद गुरुङको भनाइ छ ।
प्राधिकरणले जिल्लाका पाँच स्थानमा गरेको प्रारम्भिक अध्ययनका क्रममा उक्त स्थान छनोट भएको थियो । हवाई मैदानको भौगोलिक अवस्था, मौसमजस्ता विषयमा विस्तृत अध्ययन गरिएको थियो । हवाई मैदानलाई आवश्यक पर्ने सो क्षेत्रको करिब ४ सय २५ रोपनी जग्गा जग्गाधनीले प्रदान गर्ने लिखित निर्णय भएको छ भने जग्गाधनीलाई सरकारी मूल्याङ्कनका आधारमा मुआब्जा दिन गाविस र जिल्लास्तरमा सहमति भइसकेको छ ।
स्थानीय तबरबाट सबै काम सकिए पनि राज्यले भने वास्ता नगरेको समितिका सहसचिव कुलबहादुर गुरुङ बताउँछन् ।
सम्भाव्यता अध्ययनपछि विस्तृत अध्ययन, जग्गाको रेखाङ्कन गर्ने काम भइसकेको छ । हवाई मैदान निर्माणका लागि मन्त्रालयले गरेको विस्तृत अध्ययनका क्रममा १६ करोड ५४ लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिएको छ ।
६ सय ७० मिटर रनवे, ४० मिटर चौडाइको हवाई मैदान निर्माण गरिने विस्तृत प्रतिवेदनमा उल्लेख छ । जिल्लामा पहिलो पटक बन्न लागेको उक्त विमानस्थल निर्माणका लागि राज्यले समेतचासो दिनु आवश्यक छ ।





प्रतिक्रिया दिनुहोस्