Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


यसरी बन्यो ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सन् २०१६ कै उत्कृष्ट अस्पताल


0
Shares

काठमाडौं, कात्तिक २६ । स्वास्थ्य उपचारको क्षेत्रमा पुर्‍याएको योगदान तथा उत्कृष्ट सेवाका कारण काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल यस बर्षको उत्कृष्ट अस्पताल ‘हस्पिटल अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ ।

बिरामीको उपचारमा अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको उच्च मूल्याङ्कन गर्दै फ्रस्ट एण्ड सुलिभानले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई बर्षको उत्कृष्ट अस्पतालका रुपमा सम्मानित गरेको हो ।

राजधानीको होटल सोल्टी क्राउन प्लाजमा आयोजित बिशेष समारोहमा फ्रस्ट एण्ड सुलिभान द्वारा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेलाई सो सम्मान हस्तान्तरण गरिएको थियो ।

सम्मान ग्रहण गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले भने, ‘हामीले धेरैबर्ष अघि देखेको सपना आज सार्थक भएको छ । फ्रस्ट एण्ड सुलिभानबाट यो अवर्ड ग्रहण गरेसँगै हामी थप जिम्मेवार भएका छौं । आगामी दिनमा थप स्तरिय सेवा दिन प्रेरित भएका छौ ।’

उनले यूरोपमा अध्ययनपछि बर्षौं त्यहाँ काम गरेर हासिल गरेको ज्ञान र सिप नेपालमा फर्केर अभ्यास गर्ने उत्कठ अभिलाषासहित आफू नेपाल फर्किएको स्मरणसमेत गराए । उनले भने, ‘त्यहाँ पनि अवसरहरुको कमी थिएन । सबै छाडेर मातृभूमिमा बिश्वस्तरको उपचार सेवा शुरु गर्नुपर्छ भनी दक्ष तथा अनुभवी डाक्टरहरुको टिम बनाएर एउटा सुबिधासम्पन्न अस्पताल बनाउने परिकल्पनाको साकार रुप हो ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ।’

ग्राण्डी अस्पताल परिकल्पनादेखि आजको अवस्थामा आँउदासम्म थुप्रै चुनौतीहरु सामना गर्नुपरेको उनले बताए । ‘आज यो अवर्ड ग्रहण गर्दा बिश्वस्तरको अस्पताल स्वदेशमा स्थापना गर्ने सोचसहित नेपाल फर्कने आफ्नो निर्णय र योजनाप्रति म गौरवान्वित छु । आज यस अस्पतालले आफ्ना बिरामीहरुलाई स्वदेशमानै उत्कृष्ट स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको छ र यसलाई थप स्तरीय बनाउदै लैजान यस अवार्डले हामीलाई प्रेरित गरेको छ,’ उनले भने ।

फ्रस्ट एण्ड सुलिभान नेपाल एक्सिलेन्स अवार्ड बिशेषज्ञ टोलीको गहन अध्ययन र अनुसन्धानपछि प्रदान गरिने लोकप्रिय सम्मान हो ।

बिभिन्न सेवा प्रदायक संस्थाहरुलाई उनीहरुको कार्यसम्पादन मूल्याङ्कन, बिषयगत बिशिष्टता, सेवा बिशिष्टिकरणमा खेलेको नेतृत्वदायि भूमिका, सेवा प्रवर्द्धनमा खेलेको बिशिष्ट भूमिका, राजश्व बृद्धि लगायतका बिबिध सूचकांकहरुमा आधारित अनुसन्धान र तुलनात्मक बिष्लेषणपछि यो सम्मान प्रदान गरिन्छ ।