कविराज घिमिरे
धनकुटा, कात्तिक २६ । धनकुटामा घरेलु उद्योगका उत्पादनको व्यापार वृद्धि भएपछि व्यवसायी खुसी भएका छन् । भूकम्प तथा भारतीय नाकाबन्दीको असरका कारण गतवर्ष समस्यामा परेका घरेलु उद्योगी व्यवसायी यो वर्ष भने निकै राम्रो ब्यापार गर्न सफल भएका हुन् ।
गत बर्षको नाकाबन्दीका कारण कच्चा पदार्थ नपाउँदा ढाका कपडा उत्पादन गर्न नपाएका धनकुटाका ढाका कपडा ब्यवसायीलाई यतिबेला भने उत्पादन तथा बिक्री वितरण गर्न भ्याई–नभ्याई छ । यतिबेला धनकुटामा रहेका करिव दुई दर्जन बढी ढाका उद्योग सञ्चालकलाई माग धान्न समेत निकै मुस्किल भएको छ । बिशेषगरि ढाकाको कोट, दौरासुरुवाल, कुर्तासुरुवाल, साडी, टोपी, मफलर तथा रुमालको बढी माग हुने गरेको छ ।
गत बर्षको तुलनामा ब्यापारमा शत प्रतिशतले बृद्धि भएको धनकुटाका ढाका कपडा ब्यवसायी धनबहादुर खड्का बताउँछन् ।
धनकुटामा उत्पादन भएको ढाका कपडा तराईका मोरङ्ग, सुनसरी, सप्तरी, सिराहासहित काठमाडौंसम्म पुग्ने गरेको छ । कामदार तथा प्रविधिको अभावका कारण बजारको माग भने धान्न नसकिएको ढाका कपडा उद्योगका सञ्चालक बिविन्द्र बिष्ट बताउँछन् ।
यता, दुग्धजन्य उत्पादनको पनि गत बर्षको तुलनामा माग अत्याधिक बढेको छ । दुग्धजन्य परिकारहरु दही, पनिर, घ्यु, चीज तथा दुग्धबाट उत्पादन हुने विभिन्न प्रकारको मिठाईको माग बढी हुने गरेकाले जिल्लामा सञ्चालित करिव एक दर्जन उद्योगलाई माग पुरा गर्न भ्याई–नभ्याई छ ।
धनकुटासहित बाहिरी जिल्लामा समेत माग उच्च भएकोले तथा दुग्धको निकासी बाहिरी जिल्लामा बढी हुने गरेकाले भनेजति उत्पादन गर्न नसकिएको निसान डेरी उद्योगका सञ्चालक लेखनाथ रिजाल बताउँछन् ।
यस्तै बाँसका विभिन्न सामाग्रीको पनि माग उच्च भएकाले धनकुटाका बाँसबेत उद्योगी समेत यतिबेला निकै ब्यस्त छन् । ढाकी, डालो, डोका, मुढा, टि–बक्स तथा बाँसका जराबाट निर्मित अन्य सजावटका सामान बढी बिक्री हुने गरेको छ । ढाका कपडा, बाँसबेत, दुग्धजन्य जस्तै खुकुरी र स्थानीय बिस्कुटको पनि माग गत बर्षको तुलनामा बढेको स्थानीय उद्योगी बताउँछन् ।
यहाँको उत्पादनको माग बढे पनि कच्चा पदार्थ तथा कामदार अभावका कारण घरेलु उद्योगलाई निकै हम्मे–हम्मे परेको छ ।





प्रतिक्रिया दिनुहोस्