फाइल तस्वीर
काठमाडौं, कात्तिक २६ । व्यवस्थापिका संसद्को शुक्रबार सुरु भएको बैठकमा सांसदहरुले समयसमायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरुले भारत सरकारले भारतीय ५ सय र एक हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेको भारतीय नोट व्यवस्थापनका बारेमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । उनीहरुले भारत सरकारसँग छलफल गरी नेपालमा रहेको भारतीय रुपैयाँ पठाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा समेत छलफल भइरहेको छ ।
छलफल सकिएपछि संसद्ले कार्कीविरुद्धका आरोपबारे अनुसन्धान तहकिकातको जिम्मेवारी महाअभियोग सिफारिस समितिलाई दिनेछ ।
समितिले काम सुरु गरेको सात दिनभित्र आरोपीलाई सफाइको मौकासमेत दिई एक महिनाभित्र सदनमा प्रतिवेदन पेस गर्नुपर्छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले कात्तिक ३ गते कार्कीविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
यसैबीच मधेस केन्द्रीत दलहरुले भने संसद बैठक बहिस्कार गरेका छन् । आफूहरुसँग भएको पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै मधेस केन्द्रीत दलहरुले बैठक बहिस्कार गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्