१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


भारतको ‘आइटीइसी’ले नेपालको जनशक्ति विकासमा ठूलो योगदान पुर्‍याएको छ : शिक्षामन्त्री


0
Shares

काठमाडौं, कात्तिक २६ । शिक्षामन्त्री धनीराम पौडेलले भारतको प्रविधि तथा शिक्षा सहयोग कार्यक्रम (आइटीइसी)ले नेपालको जनशक्ति विकासमा ठूलो योगदान पुर्‍याएको बताएका छन् ।

मौलाना आजाद तथा आइटीइसी दिवसको अवसरमा भारतीय दूतावासले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा शिक्षामन्त्री पौडेलले भारतको प्रविधि तथा शिक्षा सहयोग कार्यक्रमबाट नेपालीले निकै लाभ लिइरहेको बताए ।

भारतमा भइरहेको प्रविधि विकासका नमुनाहरुको अनुभव गर्न र त्यसलाई सिकेर स्वदेशमा प्रयोग गर्न पाइरहेको भन्दै उनले प्रशंसा गरे ।

कार्यक्रममा भारतीय राजदूत रणजीत रायले कार्यक्रमअन्तर्गत् भारतका विभिन्न विश्वविद्यालय एवं संस्थाहरुमा छात्रवृत्तिमा पढेर फर्केका नेपालीहरुले नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सन् २००० यता यो कार्यक्रमअन्तर्गत् नेपालका एक हजारभन्दा बढीले छोटो अवधिको व्यवसायिक शिक्षा एवं तालिम हासिल गरिसकेका छन् ।

भारतले आइटीइसी कार्यक्रमअन्तर्गत् आफ्नै खर्चमा शिक्षा, कृषि, विज्ञान, पत्रकारिता, चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न क्षेत्रका सरकारी तथा गैरसरकारी कर्मचारीलाई मध्य तथा छोटो अवधिको शैक्षिक एवं व्यवसायिक तालिम दिँदै आएको छ ।

कार्यक्रममा भारतको पहिलो शिक्षामन्त्री मौलाना अब्दुल कलाम आजादले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानकोबारेमा पनि चर्चा गरिएको थियो ।

मौलाना आजाद दक्षिण एसियाकै शिक्षा क्षेत्रका प्ररेक व्यक्तित्व मानिन्छ ।