सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)
काठमाडौं, कात्तिक २६ । व्यवस्थापिका–संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको अविश्वास प्रस्तावमाथि फेरि छलफल सुरु भएको छ ।
तर, संसदमा ठूला भनिएका नेताको उपस्थिति त छैन नै, अरु सांसद पनि न्यून उपस्थित हुँदा हल शून्यझैं देखिन्छ ।
मधेसकेन्द्रित दलको बहिस्कारकैबीच सुरु भएको संसद बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको अविश्वास प्रस्तावमा फेरि छलफल थालिएको हो ।
छलफलमा भाग लिने सांसदहरुले कार्कीविरुद्ध कारबाही अघि बढाउन माग गरेका छन् ।
कांग्रेस सांसद धनराज गुरुङले छापामार शैलीमा अविश्वास प्रस्ताव दर्ता गरेर धेरैभन्दा धेरै सांसदको सक्रिय सहभागिता खोस्ने प्रयास गरिएको भन्दै असन्तुष्टि जनाए ।
यद्यपि, आफूहरुले राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमै टेकेर अविश्वासको प्रस्ताव आएकाले जसरी पनि पारित गरिने बताए ।
कार्कीले ‘साँढेले सडक ओगटेझैं’ गरेको टिप्पणी पनि उनको थियो ।
एमाले सांसद पुरुषोत्तम पौड्यालले कार्कीले अनावश्यकरुपमा सबैलाई दुःख दिएकाले अविश्वासको प्रस्ताव ल्याउनुपरेको तर्क गरे ।
उनले सबै सांसद मिलेर प्रस्ताव पारित गर्नुपर्ने धारणा राखे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने कार्कीलाई नियुक्ति गर्नेहरुलाई पहिला कारबाही गर्न माग गरे ।
उनले आफ्ना कर्तूत छोप्न र अन्यत्र सार्न महाअभियोगको प्रस्ताव ल्याइएको भन्दै ‘नियुक्ति नै गर्न नहुनेलाई किन नियुक्ति गरियो जवाफ चाहियो’–भने । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्









प्रतिक्रिया दिनुहोस्