Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


केन्द्रीय प्रसारणलाइनमा ४५ मेगावाट विद्युत् थपिँदै


0
Shares

                                                                              फाइल फोटो
काठमाडौं, कात्तिक २७ । आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणलाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ ।

मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ ।

कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भएपनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट क्षमताको मध्य भोटेकोसी सन्चालनमा रहेको छैन भने अरु केही साना आयोजनाले अझै विद्युत् उत्पादन गर्न सकेका छैनन् ।

ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २५ मेगावाट क्षमताको ‘मादी ए’ जलविद्युत् आयोजनाले आगामी एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने जानकारी दिए । यस्तै, ६ मेगावाटको दरौंदी आयोजना सम्पन्न भइसकेको छ ।

सो आयोजनाले पनि आगामी महिनाभित्रै प्राधिकरणको केन्द्रीय प्रसारणलाइनमा विद्युत् थप गर्ने लक्ष्य राखेको छ ।

यस्तै, १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला जलविद्युत् आयोजना पनि प्राधिकरणको प्रसारणलाइनमा जोड्ने तयारी गरिएको छ । सो आयोजनाले केही समयपहिल्यै परीक्षण प्रसारण सम्पन्न गरिसकेको छ ।

यस्तै, अर्को दुई महिनामा १२ मेगावाट बिजुली थप हुने मन्त्रालयका सचिव उपाध्यायले जानकारी दिए ।

हाल ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाले पनि परीक्षण उत्पादन गरिरहेको छ । सो आयोजनाबाट हाल २५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने प्राविधिक तयारीपछि २५ मेगावाट थप हुनेछ ।

सगरमाथा सिनो हाइड्रोले निर्माण गरेको सो आयोजनामा नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानी रहेको छ ।

विदेशी लगानीमा निर्माण हुने आयोजनाका प्रवद्र्धकसँग आयोजना विकास सम्झौता (पीडीए)को प्रक्रिया पनि सुरु गरिएको सचिव उपाध्यायले जानकारी दिए ।

उनका अनुसार अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले माथिल्लो त्रिशूली–१ आयोजनाको प्रवद्र्धक कोरियाको कम्पनीसँग पीडीए अन्तिम चरणमा पुगेको छ ।

सरकारले चालु आवको अन्त्यसम्म करिब २०० मेगावाट विद्युत् थप हुने बताउँदै आएको छ । त्यसमा कुलेखानी तेस्रो १४ मेगावाट, चमेलिया ३२ मेगावाट र निजी क्षेत्रका अरु आयोजना रहेको मन्त्रालयले जनाएको छ । रासस