२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


नेपाली साहित्य नारी रत्न पुरस्कार भागीरथी श्रेष्ठलाई


0
Shares

काठमाडौं, मंसिर १ । यो वर्षको ‘नेपाली साहित्य नारी रत्न पुरस्कार’ साहित्यकार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ ।

त्रिमूर्ति निकेतनको १२औं स्थापना दिवस पारेर बुधबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार श्रेष्ठलाई शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली साहित्य नारी रत्न पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, लेखनाथ काव्य पुरस्कार कवि मुकुन्द शर्मालाई, बालकृष्ण सम पुरस्कार नाटककार अशेष मल्ललाई, देवकोटा काव्य पुरस्कार कवि मञ्जुुललाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा उमा कार्कीको कवितासंग्रह ‘हिउँको पर्दा’, कृष्ण शाह यात्री तथा ललिता दोषीको संस्मरणसंग्रह ‘नाट्यभूषण : मदनदास श्रेष्ठ’, भगवती बस्नेतको कवितासंग्रह ‘मृत्त सागरमा म’ तथा प्रबन्धसंग्रह ‘हाम्रो संस्कृति र जीवन’को विमोचन गरिएको थियो ।

यस्तै, माधवराज आचार्यको कथासंग्रह ‘फुस्रो सिउँदो’, निर्मला ज्ञवालीको यात्रानिबन्ध ‘शान्तिकुमार राईको यात्रा’, प्रा. राजेन्द्र क्षेत्रीको नरेन्द्रराज प्रसाइँकृत एकल जीवनीको विश्लेषण र नरेन्द्रराज प्रसाइँको जीवनीसंग्रह ‘सुधपा’को पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा दुई सय आठजनालाई सत्यमोहन जोशी शताब्दीपदक पनि प्रदान गरिएको थियो ।