Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


‘पुनःनिर्माणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका आवश्यक’


0
Shares

काठमाडौं, मंसिर २ । विपद्पछिको व्यवस्थापनमा सरकार एवं निजी क्षेत्रबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ ।

चौधरी फाउन्डेसनको सहयोगमा नेपाल उद्योग परिसंघ र संयुक्त राष्ट्रसंघको ‘इस्क्याप’ले विहीबार राजधानीमा गरेको कार्यक्रममा भूकम्पपछिको पुनःनिर्माणमा पनि सरकार र निजी क्षेत्रबीच समन्वयमा जोड दिइएको हो ।

आपूर्तिमन्त्री दीपक बोहोराले पुनःनिर्माणका लागि आवश्यक निर्माण सामग्रीको व्यवस्थापन गर्न निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताए ।

तर, त्यसका लागि निजी क्षेत्रले मूल्यमा तलमाथि नगर्नेमा आश्वस्तता भने पार्नुपर्ने उनको शर्त छ । निर्माण सामाग्रीको गुणस्तर सरकारले नाप्ने उनको भनाइ छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणका लागि निजी क्षेत्रसहित अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग आवश्यक रहेको बताए ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भूकम्पपछिको पुनःनिर्माणमा चौधरी फाउन्डेसनले गरेको सहयोगको चर्चा गरे । उनले पुनःनिर्माण एवं नवनिर्माणमा निजी क्षेत्रले थप सहयोग गर्नसक्ने बताए ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले पुनःनिर्माणको नेतृत्व राज्यले लिनुपर्ने र त्यसमा निजी क्षेत्रलाई समाहित गर्नुपर्ने बताए ।

नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष उपेन्द्र पौड्यालले भूकम्पप्रभावितका लागि शाखारहित बैंकिङ सुविधा दिन बैंकिङ समुदाय तयार रहेको बताए ।

शाखारहित बैंकिङ सेवाका लागि आफूहरु तयार भएपनि प्राधिकरणले भने सुरक्षा दिने विषयमा वास्ता नगरेको उनले गुनासो गरे ।