Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘महाभियोग प्रस्तावमाथिको छलफल आइतबार सकिने’


0
Shares

काठमाडौं, मंसिर ३ । आगामी आइतबारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथिको छलफल टुंगोमा पुग्ने भएको छ ।

व्यवस्थापिका–संसदको बैठकपछि शुक्रबार संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीसँग कुरा गर्दै सभामुख ओनसरी घर्तीले महाभियोगका विषयमा लामो समयसम्म छलफल गर्नेभन्दा पनि छिटो टुंग्याउन आफूले प्रमुख दलका नेतालाई अनुरोध गरेको र प्रतिनिधिमूलक ढंगले कुरा राख्न प्रमुख सचेतकमार्फत् सांसदलाई आग्रह गरेको जानकारी दिइन् ।

महाभियोग प्रस्तावमाथिको छलफलमा हालसम्म ५१ सांसदले आफ्नो धारणा राखिसकेको तथा बाँकी ३० सांसदले बोल्न बाँकी छ । सभामुखका अनुसार हाल ३३ विधेयक छलफलका क्रममा छन् ।

प्रमुख विषयमा राजनीतिक दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै उनले पछिल्ला दिनमा लगातार भइरहेका बैठकलेसमेत सहमतिको वातावरण तयार पारेको जिकिर गरिन् ।

प्रमुख दलको सहमतिबिना महाभियोगलगायत राष्ट्रिय कार्यसूची अगाडि बढ्न नसक्ने भएकाले त्यसमा ध्यान दिन आफूले आग्रह गरेको उनको कथन थियो ।

संविधान कार्यान्वयनसँग जोडिएका विधेयकलाई प्रमुखताका साथ अगाडि बढाउन आफूले बिहानको समयमा समितिको बैठक राख्न र अपराह्नमात्रै सदनको बैठक राख्ने गरी समय मिलाएको जानकारी दिइन् ।

‘संविधान कार्यान्वयनसँग जोडिएका विधेयक र अन्य विधेयकलाई सँगै लैजानुपर्छ भन्ने सोचका साथ समय व्यवस्थापन गरिएकाले सहजता हुन्छ भन्ने मैले विश्वास गरेको छु’–सभामुखले भनिन् । रासस

Skip This