-यादव आचार्य, ईमेज
बर्दिया, मंसिर ५ । वर्ष दिनभरीको दुःखको प्रतिफल खलोभरी धान जम्मा गरेर घरको भकारी भरी खुशी हुनुपर्ने बेलामा उत्पादन नभएर त्यसको ठीक उल्टो अवस्था सामना गर्नुप¥यो भने परिश्रमी कृषकमा कस्तो बज्रपात पर्ला ? अहिले त्यस्तै अवस्था ब्यहोरिरहेका छन्, बर्दियाका कृषकले ।
राष्ट्रिय विउ विजन कम्पनी क्षेत्रीय कार्यालय नेपालगञ्जले यस वर्ष बर्दियामा वितरण गरेको अनुदानको धानको विउमा अशुद्धता भएपछि बर्दियाका किसानहरु मर्कामा परेका हुन् ।
कम्पनीले सहुलियत अनुदानमा उपलव्ध गरेको ३ सय मेट्रिक टन धानको विउ मध्ये मकवानपुर जातको १० मेट्रिक टन धानको विउ खजडा परेको हो ।
बर्दियाको अन्न उत्पादनको भण्डारका रुपमा मानिने राजापुरको ३ सय ५० विगाहा क्षेत्रफलमा गरिएको धान खेती अर्थहिन भएको छ ।
किसानहरुले माग गरेको विउको विपरित १५ थरीका मिसावटयुक्त धान उत्पादन भएपछि किसानहरु थप मर्कामा परेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावत बताउँछन् ।
स्थानीय सहकारी संस्थाले नेपालगञ्ज स्थित वागेश्वरी एग्रोसिड प्रा.लिबाट धानको विउ खरिद गरेको थियो । आफूले पाएको धानको विउ मध्ये मकवारपुर जातको धानले धोका दिएको किसानहरुको गुनासो छ ।
अनुदानको विउमा अशुद्धता भेटिएपछि जिल्ला कृषि विकास कार्यालय बर्दियाले क्षतिपूर्तिको लागि पहल थालेको छ ।
प्रमुख जिल्ला अधिकारी, पीडित किसान र विउ आपूर्ति कम्पनीको संयुक्त वैठकले पीडित किसानहरुलाई क्षतीपूर्ति दिने निर्णय गरेको छ ।
जसअनुसार खजडा उत्पादनलाई राम्रो धानको मुल्य दिने र खजडा विउ वापत घटेको उत्पादनको आधा क्षतिपूर्ति वितरकले दिने सहमती भएको पुनः वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावत बताउँछन् ।
बर्दिया जिल्ला अन्न उत्पादनको भण्डार हो । यहाँका अधिकांस सर्वसाधारण कृषि पेशामा आवद्ध छन् । यस्तो अवस्थामा सरकारले विउ प्रतिको शुद्धता तर्फ ध्यान दिंदै पीडित किसानहरुलाई सुहाउँदो क्षतिपूर्ति दिनु जरुरी छ ।





प्रतिक्रिया दिनुहोस्