काठमाडौं, मंसिर ६ । नेपाल उद्योग वाणिज्य महासंघले भारतसँगको व्यापारमा असर परेको भन्दै व्यापारीहरुलाई आवश्यक मात्रामा भारतीय रुपैयाँ उपलब्ध गराउन आग्रह गरेको छ ।
भारतीय ५ सय र एक हजारका नोट प्रतिबन्धका कारण अर्थतन्त्रमा पर्नसक्ने प्रभाव सम्बन्धमा सोमबार काठमाडौंमा अयोजित अन्तरक्रियामा अध्यक्ष पशुपति मुरारकाले तत्काल भारतीय नोट उपलब्ध गराउन माग गरेका हुन् ।
भारतसँग व्यापारमा निर्भर नेपाली व्यापारीहरुसँग यतिखेर सामान आयात गर्दा तिर्ने भारतीय रुपैयाँ नभएर मुस्किल भएको उनले उल्लेख गरे ।
सबै भुक्तानी ड्राफ्टबाट गर्न सम्भव नभएकाले राष्ट्र बैैकले आवश्यकता हेरेर नगद नै उपलब्ध गराउनुपर्नेमा मुरारकाले जोड दिए ।
भारतीय रुपैयाँको अभावमा सामान आयात हुन नसक्दा उद्योगधन्दा, खाद्यान्न आदि क्षेत्रमासमेत असर पर्नजाने उनले उल्लेख गरे ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भारतीय अधिकारीहरुसँग अनुरोध गरेर व्यवस्था मिलाउने आश्वासन दिए ।
हाल राष्ट्र बैंक आफैं धेरै गर्नसक्ने अवस्थामा नरहेको उनले बताए ।
उनले सामान्य अवस्थाका लागि हाल राष्ट्र बैैकसँग एक वर्षका लागि पुग्ने भारतीय रुपैयाँ रहेको बताए ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भारतीय नोट साट्ने प्रक्रियाका लागि पहल भइरहेको जानकारी गराए ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेसरी शाहले भारतीय रुपैयाँको समस्या ठूलो भएकाले यसको राजनीतिक समाधान आवश्यक रहेको बताए ।
नेपाल राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्न बैंकहरु तयार रहेको पनि उनले उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्