काठमाडौं, मंसिर ७ । गत वर्षको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको ऐतिहासिक काष्ठमन्डप ठेक्कामा निर्माण गर्न लागिएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।
काष्ठमन्डप पुनःनिर्माणका लागि अभियानले मंगलबार राजधानीमा गरेको सर्वपक्षीय छलफलमा विभिन्न क्षेत्रका व्यक्तिहरुले ठेक्कामा दिएर सम्पदा पुनःनिर्माण गर्दा त्यसको मौलिकता गम्भीर संकटमा पर्न सक्नेतर्फ सचेत गराएका छन् ।
विभिन्न क्षेत्रका विज्ञहरुले अहिलेको अवस्थामा सम्पदाको पुनःनिर्माण गरिँदा त्यसको मौलिक पहिचानलाई कायमै राख्ने र यसको टिकाऊपनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
पुरातत्व विभागका पूर्वमहानिर्देशक पोषप्रसाद आचार्यले परम्परागत तरिकाले बनाएकोले काष्ठमन्डपको जगमा क्षति नपुगेको भन्दै अबपनि परम्परागत विधिबाटै बनाउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई निर्माणको जिम्मा दिनुपर्ने बताए ।
यस्तै, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेशमान बज्राचार्यले कलाकारलाईभन्दा ठेकेदारलाई मान्यता दिने प्रचलनलाई अन्त्य नगरिएसम्म सम्पदाको पुनःनिर्माण टिकाऊ नहुने तर्क गरे ।
यस्तै, हनुमानढोका दरबार क्षेत्र संरक्षण समितिका पूर्वअध्यक्ष तेजरत्न ताम्राकारले सम्पदा बनाउन ठेकेदारलाई जिम्मा लगाउँदा लापरबाही हुने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए ।
यस्तै, पुरातत्व विभागका पूर्वमहानिर्देशक डा. साफल्य अमात्यले पुरातात्विक महत्व बोकेको काष्ठमन्डपको स्वरुप पुरानै देखिने गरी तर विगतकोभन्दा अझै बलियो हुने गरी निर्माण गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा काठमाडौंका सांसदहरु रामवीर मानन्धर, ध्यानगोविन्द रञ्जित र भीमसेनदास प्रधानलगायतले सम्पदा पुनःनिर्माणका लागि ऐन–नियम बाधक भए त्यसलाई संशोधन गरेर दिगो निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालका पूर्वउपकुलपति केदारभक्त माथेमाले अलग्यै पहिचान बोकेको काष्ठमन्डपको पुनःनिर्माण हचुवामा गर्नुको साटो विज्ञहरुको रायका आधारमा गर्नुपर्ने बताए ।
त्यसक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य तथा अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले काष्ठमन्डपको पुनःनिर्माणको काम ठेक्का आह्वान गरेर दिँदा यसको मौलिकता र महत्वमा असर पर्नसक्नेतर्फ ध्यानाकर्षण गराए ।
कार्यक्रममा सहभागी स्थानीय वासिन्दा, बुद्धिजीवी, पत्रकारलगायतले विज्ञहरुको प्रत्यक्ष निगरानीमा काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।





प्रतिक्रिया दिनुहोस्