हेटौंडा, मंसिर १६ । कपडा पुरानो भएर लाउन नमिल्ने भएपछि तपाइँ के गर्नुहुन्छ ? यो प्रश्नको जवाफ सामान्यतया ‘फाल्छौं’ भन्ने आउला ।
तर, हेटौंडा उपमहानगरपालिकामा भने ‘सिरक–डसना बनाउछौं’ भन्ने जवाफ आउन थालेको छ ।
हेटौंडा उपमहानगरपालिका–८ का कमानसिंह लामाको हेटौंडा कपास उद्योगमा पुराना कपडाको कपास बनाउन आउनेको भीड लाग्दछ ।
होटल व्यवसायबाट मनग्य आम्दानी नभएर वैदेशिक रोजगारको सपना देख्न थालेका लामालाई आफन्तले थोरै लगानीमा गर्नसक्ने यस्तो व्यवसायकोबारेमा सुझाएपछि आफन्तसँग ऋण मागेर उनले हेटौंडा कपास उद्योग सन्चालन गरेका हुन् ।
डेढ वर्षअगाडि खोलेको सो उद्योगबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको लामा बताउँछन् ।
करिब रु १५ लाख लगानीबाट सुरु गरेको उक्त उद्योगले १० जनालाई रोजगारी दिएको छ ।
एक किलो कपडा पेल्न उनले रु १८ लिने गर्छन् । पुरानो कपडा नगरपालिकाको फोहर संकलन गर्ने गाडीमा हाल्ने गरेका यहाँका बासिन्दा अहिले पेलेर डसना बनाउन थालेका छन् ।
‘पैसाको बचत भएको छ’–हेटौंडा–४ की सुजता मैनालीले भनिन्–‘फोहरको गाडीमा कपडा हाल्न कस्तो माया लाग्थ्यो, राख्ने ठाँउसम्म हुन्नथ्यो तर बल्ल यसको सदुपयोग भएको छ ।’ रासस









प्रतिक्रिया दिनुहोस्