Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


बूढीगन्डकी आयोजनाको कार्यालयमा ताला लगाउन खोज्दा झडप


0
Shares

गोरखा, मंसिर १६ । गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगन्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि विहीबार झडप भएको छ ।

बूढीगन्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो ।

दिउँसो ३ बजेपछि करिब २० मिनेट झडप भएको हो । प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो ।

कार्यालयको ढोकामा ताला लगाउन पुगेका सरोकार समितिको टोलीलाई प्रहरीले रोकेपछि कार्यालय परिसरमा रहेका प्रभावितले ढुंगा प्रहार गरी कार्यालय तोडफोड गरेका हुन् ।

कार्यालयका सिसा फुटेपछि स्थितिलाई नियन्त्रणमा लिन १५/२० राउन्ड अश्रुग्यास प्रहार गरिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

‘प्रभावितले कार्यालयको सिसा फुटाएपछि स्थितिलाई नियन्त्रणमा लिन लाठी चलाइयोे । अश्रुग्यास पनि हानिएको छ’–थापाले भने–‘ढुंगामुढा गर्नेहरुलाई तितरवितर पारेका छौं ।’

कार्यालयमा शान्तिपूर्ण तवरले ताला लगाउन खोज्दा प्रहरीले दमन गरेको बूढीगन्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताए ।

‘प्रभावितलाई बिनाकारण प्रहरीले अश्रुग्यास प्रहार गरेको छ’–उनले भने–‘प्रहरी दमन स्वीकार्य छैन ।’

केही स्थानीयबासी सामान्य घाइते भएको बताइएको छ ।

गत कात्तिक ११ गते बूढीगन्डकी आयोजना क्षेत्रको मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि प्रभावितले मुआब्जा रकम न्यून भएको भन्दै विरोध गर्दै आएका छन् ।

सिउरेनीटार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घ्याल्चोक, दर्बुङ, फुजेललगायत विभिन्न १५ गाविसका प्रभावित जनता मुआब्जा बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

पूर्वनिर्धारित् कार्यक्रमअनुसार उनीहरु कार्यालयमा ताला लगाउन सिउरेनीटार पुगेका थिए । रासस