Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


विकासको गतिलाई अवरोध गर्ने गतिविधि असह्य : प्रधानमन्त्री


0
Shares

काठमाडौं, चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहानाबाजी गरेर विकासको गतिलाई अवरोध गर्ने गतिविधि गरे सह्य नहुने चेतावनी दिएका छन् ।

संसदको चालु अधिवेशन समापनको अवसरमा आज संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फालिसकेको राजतन्त्रको विषयमा जनमत संग्रहको माग र राजतन्त्रको वकालतमा धेरै नारा नलगाउन चेतावनीसमेत दिए ।

सिके राउतसँगको ११ बुँदे सहमतिसँगै राष्ट्रघात, भौगोलिक खण्डता र सार्वभौमसत्ता विरुद्धको विचार नै समाप्त भएको उनको दाबी थियो । उनले ११ बुँदे सहमतिको कुनै पनि बुँदामा जनमत संग्रह उल्लेख नरहेको भन्दै सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय स्वाभिमानका विषयमा कुनै पनि हालतमा जनमत संग्रह नहुनसक्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले विप्लव समूहलाई पटक–पटक शान्तिपूर्ण राजनीतिक बाटोमा आउन आग्रह गरिएको तर संविधान, ऐनकानुन विपरितका हिंसात्मक गतिविधि गरेकाले त्यस्ता गतिविधिमाथि प्रतिबन्ध लगाएको स्पष्टिकरण दिए । उनले विप्लव समूहलाई हतियार बुझाउन समय दिइएको र समय सिमाभित्र हतियार नबुझाए सरकारले कडाईका साथ हतियार नियन्त्रणमा लिने बताए ।

नेपालले छोटो समयमै महिला सहभागिताका सम्बन्धमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउदै प्रधानमन्त्री ओलीले विकसित र ठूला राष्ट्रभन्दा नेपाल अघि रहेको धारणा व्यक्त गरे ।

शैक्षिक क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त भएको बताउँदै उनले दुई वर्षभित्र निरक्षरता उन्मुलनका लागि धेरै काम भइरहेको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘खाद्यान्नको अभाव हुन दिइएको छैन, महिलाको प्रजनन अधिकारका लागि हवाई सेवा दिएर पनि मातृशिशुको ज्यान बचाएका छौँ । करीब ८०० किमी सडक बाटो कालोपत्रे भएको छ । यो विकास निर्माणको आधार वर्ष हो ।’

यसैबीच, संघीय संसदका दुवै सदनको चालु अधिवेशन आजबाट अन्त्य भएको छ । संसदको चालु अधिवेशन पुस ११ गतेदेखि सुरु भएको थियो ।