७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


भक्तजनको घर–घर पुग्ने त्रिपुरासुन्दरी, एउटा बिल्कुलै फरक जात्रा (भिडियो रिपोर्ट)


0
Shares

प्रतीक लामिछाने/नवराज छत्कुली (इमेज)
धादिङ, मंसिर १७ । सामान्यता मन्दिर र तीर्थस्थल भन्नेबित्तिकै भगवानको मूर्ति तथा तस्वीरमा पूजाआजा गर्ने कुनै विशेष ठाउँ भन्ने बुझिन्छ ।

तर, धादिङको सल्यानकोट गाविसमा रहेको त्रिपुरासुन्दरीको मन्दिरमा भने भक्तजनले न मूर्ति देख्न पाउँछन् न त तस्वीर नै ।

बरु, भगवती स्वयं नै भक्तजनलाई दर्शन दिन विभिन्न मन्दिर र स्थलहरुमा भ्रमण गर्दै हिँड्ने गरेको पाइन्छ ।

त्यसो त सामान्यतया देवी–देवताको पूजाअजा वर्षभरि एउटा कुनै निश्चित मन्दिरमा राखेर गर्ने गरिन्छ । सल्यानकोटकी त्रिपुरासुन्दरीको हकमा भने यो नियम लागू हुँदैन ।

बरु, उनलाई वर्षभरि जिल्लाकै विभिन्न ठाउँमा रहेका उनका मन्दिरमा पुर्‍याएर पूजाआजा गर्ने गरिन्छ ।

सोही परम्पराअनुसार शुक्रबार भगवतीलाई सल्यानकोट गाविसमा रहेको मूल मन्दिरबाट यसरी बाजागाजासहित झिसमिसेमै बेसी झारिएको थियो ।

पहाडको टाकुरामा रहेको भगवतीको गाउँको मन्दिरबाट भीरको बाटो होसियारीपूर्वक बेसीको मन्दिरमा पुर्‍याउने यो अत्यन्तै कठिन परम्परा अहिले होइन, वर्षौ अघिदेखि यसैगरी सन्चालन भैरहेको छ ।

भक्तजनले मन्दिरमा पुगेर प्रत्यक्षरुपमा भगवतीकोस्वरुप हेरेर पूजाआजा गर्न नपाउने यी भगवतीलाई हरेक वर्ष यसैगरी भक्तजनको घर–आँगन हुँदै आगिन्चोक गाविसमा रहेको बेसीको मन्दिरमा पुर्‍याइन्छ ।

स्थानीयस्तरमा माइस्थान जात्रा तथा न्वागी जात्राकोरुपमा परिचित यो जात्रा नेपालका पहाडी क्षेत्रमा हुने अन्य जात्रा र मेलाभन्दा बिल्कुलै फरक ढंगको हुने गर्दछ ।

यसरी धुमधामका साथ बाजा गाजासहित भगवतीलाई बेसीमा रहेको मन्दिरमा पु¥याएपछि करिब ४ महिना बेसीकै मन्दिरमा भगवतीको पूजा आराधना हुने गर्दछ ।

अनि, फागुन महिनाको अन्त्यतिर एक विशेष तिथिमा भगवतीलाई यसैगरी पिठ्युमा बोकेर पुनः गाउँकै मन्दिरमा पुर्‍याइन्छ । सल्यानकोट गाविसमा मात्रै भगवतीका दुईओटा मन्दिर छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।