Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सञ्चारमाध्यमहरु अफवाह फैलाउन लागे–सञ्चारमन्त्री बाँस्कोटा


0
Shares

काठमाडौं, चैत १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चारमाध्यमहरु अफवाह फैलाउन लागेको आरोप लगाएका छन् ।

काठमाडौंमा नेपाल प्रेस इन्ष्टिच्यूटको ३५ औंं समूह पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटनमा मन्त्री बाँस्कोटाले केही सञ्चारमाध्यमले सत्यतथ्यको खोजी नगरी भ्रामक खबर फैलाउने गरेको आरोप लगाएका हुन् ।

मर्यादित पत्रकारिता गर्न सुझाव दिँदै उनले पत्रकारहरुले मर्यादित रुपमा पत्रकारिता नगरे अराजकता बढ्ने जिकीर गरे । प्रेस स्वतन्त्रताको आडमा कसैले पनि गलत समाचार सम्पे्रषण गरेमा कारबाही गरिने चेतावनी पनि मन्त्री बाँस्कोटाको थियो ।

संविधानले प्रदान गरेको पूर्ण प्रेस स्वतन्त्रताको उचित प्रयोग गरि देशको हितमा गरिने पत्रकारिता नै राम्रो हुने उनको तर्क थियो ।

पत्रकारहरुको हकहितका लागि सरकार सदैव तत्पर रहेको भन्दै उनले पत्रकार आफैं पनि आफ्ना अधिकारका लागि लड्नुपर्ने सुझाव दिए ।

नेपाल प्रेस इन्टिच्यूटले वि सं २०४१ सालदेखि पत्रकारिता प्रशिक्षण तालिम निरन्तर सञ्चालन गर्दै आएको छ ।

हालसम्म ७ सय ५ जनाले यस्ता तालिमबाट लाभ लिइसकेका छन् । यस वर्षको प्रशिक्षणमा ७ प्रदेशका २५ जनाको समूहलाई तालिम दिने नेपाल प्रेस इन्टिच्यूटले जनाएको छ ।