Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


डुंगाबाट रारा घुम्न सर्वसाधारणलाई खुल्ला, यस्तो छ रारातालको विशेषता


0
Shares

राजाराम कार्की (रासस)

काठमाडौं, मंसिर १८ । ‘मनको माया हजुरको कहिले पाउने हो । हुम्ला, जुम्ला गढीमा कहिले जाने हो, डुंगाा चढी राराताल कहिले घुम्ने हो ।’

कुन्ती मोक्तानले गाएको उक्त गीतको परिणाम ढिलै भएपनि आन्तरिक तथा बाह्य पर्यटकले अन्ततः तालमा डुंगा चढ्न पाउने भएका छन् ।

नेपाल सरकार कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघले मुगु जिल्लालाई ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ (ओभीओपी)मा आबद्ध गरेपछि सर्वसाधारणलाई शुल्क लिएर रारातालमा डुंगा चढ्न अनुमति दिइएको हो ।

जिल्लालाई पर्यटकीय गन्तव्य स्थानकारुपमा विकास गर्ने योजनाअनुरुप पहिलोपटक सर्वसाधारणका लागि शुल्क लिएर डुंगा सन्चालन गरिएको ओभीओपी कार्यक्रम संयोजक दिलसुन्दर श्रेष्ठले बताए । ओभीओपी कार्यक्रम मुगु जिल्लामा पाँच वर्षसम्म लागू हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र मुगुस्थित नेपाल उद्योग वाणिज्य संघ, जिल्ला विकास समितिको कार्यालय र जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा गत महिनादेखि तालमा डुंगा सन्चालन गर्ने अनुमति प्रदान गरिएको हो ।

यसअघि तालमा शुल्क लिएर डुंगा चलाउन पाइँदैनथ्यो । अहिले तीनओटा डुंगा सन्चालनमा आएका छन् । डुंगाबाट राराताल घुम्दा प्रतिडुंगा रु ७०० शुल्क तिर्नुपर्छ भने डुंगामा पाँचदेखि सात व्यक्ति बस्न सक्छन् ।

नेपाल सरकार कृषि विकास मन्त्रालय तथा नेउवा महासंघ/कृषि उद्यम केन्द्रको सहकार्यमा आर्थिक वर्ष २०६३/६४ देखि सार्वजनिक निजी साझेदारी अवधारणअन्तर्गत् एक गाउँ एक उत्पादन कार्यक्रम लागू भएको छ ।

हाल कर्णाली अन्चलको मुगु जिल्लासहित ३३ र ४३ नगरपालिकामा उक्त कार्यक्रम सन्चालन भइरहेको छ ।

मुगु जिल्लालाई एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत पर्यटकीय जिल्लाकारुपमा विकास गर्ने उद्देश्यअनुरुप ताल्चा गाविसको कार्कीवडा राराको मुर्मा, तिनाको झ्यारीमा होमस्टे सन्चालनको अन्तिम तयारी भइरहेको छ ।

ओभीओपी कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरन्जन र बसोबासमा सुविधा दिने उद्देश्यले होमस्टे सन्चालनमा ल्याउन लागिएको कृषि उद्यम केन्द्रका संयोजक श्रेष्ठले बताए ।

राराताल कर्णाली अञ्चलको मुगु जिल्लामा् अवस्थित छ । उक्त ताल नेपालको सबैभन्दा ठूलो हो । समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा छ ।

१० दशमलव ८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उक्त तालको लम्बाइ पाँच किलोमिटर र चौडाइ ३ दशमलव २ किलोमिटर तथा गहिराइ १६७ मिटर छ ।

रारा राष्ट्रिय निकुञ्जमा कस्तुरी, रतुवा आदि वन्यजन्तु पाइन्छ । नेपालको राष्ट्रिय पक्षी डाँफे र अरु चराचुरुंगी पनि पाइन्छन् ।

यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

राराताल आसपास क्षेत्रमा जेठदेखि असोज महिनामा विभिन्न फूलले ढाकिएको पाइन्छ । जसले रारा तालको दृश्यावलोकनलाई लोभ्याउँछ ।

राराको अर्को थप विशेषता विश्वको अन्यत्र नपाउने असला (हिमाली) माछा तालमा पाइन्छ ।

तालको पानीमा सैपाल हिमालको साथै सिस्ने र कन्जिरोवा हिमालको छायाँ देखिन्छ ।

सुर्खेत–जुम्ला मोटर बाटो खुलेपछि स्थलमार्गबाट रारा जान दुई दिन लाग्छ । हवाईमार्ग नेपालगन्जबाट ४५ मिनेटमा र तालचा विमानस्थलबाट दुईघन्टाको पैदल हिँडेर रारा ताल पुगिन्छ ।

अहिले दैनिक झन्डै एक सय आन्तरिक तथा बाह्य पर्यटकले सो क्षेत्रको भ्रमण गर्ने गरेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढाले बताए ।

ओभीओपी कार्यक्रम लागू भएपश्चात् होमस्टे सन्चालनमा गृहिणीको व्यस्तता, युवाले ट्रेकिङ, हाइकिङ तथा ओइटरको काम र स्थानीयस्तरमा पाइने खाद्यान्नको बिक्री–वितरणबाट मुगुका किसानको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।

कालीकोटको रातो मार्सीधान, जुम्ला, हुम्ला, डोल्पामा पाइने सिमी, आलु फापर र कोदो यहाँका किसानको मुख्य उत्पादन हो ।

‘सरकारले जुम्लादेखि रारासम्म जाने बाटोलाई कालोपत्रे गर्ने हो भन्ने पर्यटकको आगमनमा बृद्धि हुन्छ भने रोजगारीका लागि भारतको कालापहाडतर्फ जाने युवाको पलायनसमेत रोकिन्छ’–नेपाल उद्योग वाणिज्य महासंघ अञ्चल प्रतिनिधि नरवीर रावत भन्छन् ।