रमेश लम्साल (रासस)
काठमाडौं, मंसिर १८ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारणलाइनमा हाल एक हजार २८६ मेगावाट विद्युत् माग छ ।
भारतबाटसमेत आयात गरिएको विद्युत्समेत जोड्दा कुल ८८६ मेगावाटमात्रै विद्युत् आपूर्ति भइरहेको छ । तर, काठमाडौं उपत्यकामा विद्युत्भार कटौती भएको छैन ।
उपत्यकाबाहिर पनि औसतमा दुईदेखि चारघन्टामात्रै विद्युत् कटौती गरिएको छ । सुन्दा अचम्म लाग्न सक्छ, कसरी सम्भव भयो ?
कुशल व्यवस्थापन गरिएकै कारण प्रणालीमा कुल ४०० मेगावाट विद्युत् अपुग भएपनि राजधानी काठमाडौं, काभ्रेपलाञ्चोक, धादिङ, रसुवा र नुवाकोटलाई विद्युत्भार कटौती मुक्त गर्न सकिएको हो ।
माथिल्लो मर्स्याङ्दी, हेवा खोलालगायत केही आयोजनाबाट हाल ४५ मेगावाटमात्रै विद्युत् उत्पादन थप भएको छ ।
केही आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केन्द्रीय प्रणालीमा विद्युत् पनि जोडेका छैनन् । तर, विद्युत्भार कटौती भने नगन्य मात्रामा रहेको छ ।
प्राधिकरणका अनुसार हाल भारतबाट करिब २८० मेगावाट विद्युत् आयात भइरहेको छ । निकट भविष्यमा नै थप २५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । गत दसैंदेखि उपत्यकामा विद्युत् कटौती भएको छैन ।
कसरी सम्भव भयो त ? भन्ने प्रश्नमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्–‘हामीले व्यवस्थापनमात्रै गरेका छौं, जसका कारण सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको छ । यसमा जनताको थप साथको आवश्यकता छ ।’
गत वर्ष प्राधिकरणले विद्युत् आपूर्ति कम भएको भन्दै मंसिर महिनादेखि नै दैनिक ६ घन्टा विद्युत् कटौती गर्दै आएको थियो ।
प्राधिकरणले गत असार, साउन र भदौमासमेत विद्युत् आपूर्ति कम भएको भन्दै दैनिक सातघन्टासम्म विद्युत् कटौती गर्दै आएको थियो ।
सातापिच्छे नै विद्युत् कटौतीको सूचना सार्वजनिक गर्ने प्राधिकरणले यस वर्ष भने कुनै सूचना सार्वजनिक नगर्ने र सकेसम्म मुलुकभर नै विद्युत् कटौतीमुक्त गर्ने योजनामा लागेको छ ।
ऊर्जामन्त्री जनार्दन शर्मा आगामी हिउँदमा सकेसम्म विद्युत् कटौती गर्नु नपर्ने गरी काम सुरु भएको बताउँछन् ।
‘हामीले सबै उपाय अवलम्बन गरेरै भएपनि मुलुकलाई उज्यालो पार्ने अभियानमा लागेका छौं । बढी विद्युत् माग हुने समयमा अत्यधिक विद्युत् प्रयोग गर्ने उपकरण नचलाउन उपभोक्तालाई आग्रह गरेका छौं । यसबाट पनि केही राहत मिल्ने विश्वास लिएका छौं’–मन्त्री शर्माले भने ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार निरन्तर विद्युत् उपलब्ध हुन थालेपछि काठमाडौं उपत्यकामा रहेका करिब दुई लाख इन्भर्टरले खपत गर्ने विद्युत्समेत प्रणालीमा नै रहेका कारण विद्युत् आपूर्ति सहज भएको हो ।
ती इन्भर्टरले करिब १०० मेगावाट विद्युत् खपत गर्ने गरेका थिए ।
‘निरन्तर विद्युत् आपूर्तिका कारण ब्याट्री चार्ज गरेर राख्नुपर्ने अवस्थाको अन्त्य भएको छ, जसका कारण पनि सहज भएको हो’–प्रवक्ता अधिकारीले बताए ।
नदीमा जलस्तर घट्दै जाँदा कसरी सन्तुलन मिलाउने भन्ने चिन्तामा भने प्राधिकरण यतिबेला परेको छ ।
तर, इच्छा शक्ति भए कुनै समस्या नपर्ने धारणा सार्वजनिक गर्दै अगाडि बढेको प्राधिकरणले ढल्केबर सवस्टेसनबाट आगामी पुस १५ देखि थप ८० मेगावाट विद्युत् जोड्ने तयारी गरेको छ ।
यस्तै, कुशाहा–कटैया प्रसारणलाइनबाट ५० मेगावाट, रक्सौल–रवानीपुरबाट ५० मेगावाट र टनकपुरबाट थप ३० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्