Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणको कामले गति लियो


0
Shares

                                                                             फाइल फोटो

बागलुङ, मंसिर २० । राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङखन्ड निर्माणको कामले गति लिएको छ ।

भूकम्प, नाकाबन्दी, बाढी–पहिरोजस्ता कारणले प्रभावित बनेको सडक निर्माणकार्य तीव्ररुपमा अघि बढेको छ ।

हटिया–बुर्तिबाङ ४४ किलोमिटर खन्डमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको लोकमार्ग आयोजनाले जनाएको छ ।

उक्त खन्ड दुई वर्षभित्र कालोपत्रे गर्ने गरी २०७१ माघमा सम्झौता भएको थियो । अहिले सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली काट्ने, ‘ग्राबेल’लगायतका काम भइरहेको छ ।

आयोजनाका बागलुङखन्ड प्रमुख सिनियर डिभिजनल इन्जिनियर बद्रीप्रसाद शर्माका अनुसार आगामी एक वर्षभित्र सडक कालोपत्रे हुनेछ ।

‘प्रतिकुल परिस्थितिले समयमै काम हुन सकेन, समय थपेर एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ’–इन्जिनियर शर्माले भने ।

४४ किलोमिटर सडकलाई तीन खन्डमा बाँडेर निर्माणको जिम्मा दिइएको छ । हटियादेखि खर्बाङसम्मको १६ किमी सडक ‘शंकर माली’ले कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ ।

खर्बाङदेखि भीमगिठे ठूलाबेसीसम्मको अर्को १६ किमी सडक चालु आवभित्रै कालोपत्रे गर्ने गरी ‘रौताहा कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा लिएको छ ।

ठूलाबेसी भीमगिठेदेखि बुर्तिबाङसम्मको १२ किमी सडकमा ‘दिवा कन्स्ट्रक्सन’ले काम गरिरहेको छ ।

मापदन्डअनुसार सडक विस्तार गर्नेक्रममा ठूलाबेसी–बुर्तिबाङखन्डमा ३० ओटा घरटहरा हटाइएको ‘दिवा कन्स्ट्रक्सन’का इन्जिनियर सुनिल ढुंगानाले जानकारी दिए । उनले काम तीव्ररुपमा अघि बढेकाले निर्धारित समयमै निर्माण हुने बताए ।

बुर्तिबाङ शेरादेखि निसी पातीहाल्नेसम्मको ४२ किमी सडक पनि तीन वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भइ काम अघि बढेको आयोजनाले जनाएको छ ।

बुर्तिबाङ–बोहरागाउँ १७ किमी पनि ‘शंकर माली’ले नै, बोहरागाउँदेखि निसी चरिबाङसम्मको साढे १४ किमी ‘कालिका प्यासेफिक’ र अन्तिमखन्ड चरिबाङदेखि पातीहाल्नेसम्मको १० किमी २०० मिटर सडक ‘कन्काई कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा लिएका छन् ।

लोकमार्गको बागलुङखन्डमा पर्ने १३५ किमी सडकमध्ये घोडाबाँधेदेखि हटियासम्मको २० किमी सडकखन्ड यसअघि नै कालोपत्रे भइसकेको छ ।

बाँकी ११५ किमी सडकलाई पनि विभिन्न खन्डमा बाँडेर स्तरबृद्धि र कालोपत्रे गर्ने काम भइरहेको इन्जिनियर शर्माले बताए ।

‘अबको तीन वर्षमा बागलुङखन्डको सबै सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ’–इन्जिनियर शर्माले भने–‘लोकमार्गको बागलुङखन्डमा सबैभन्दा बढी काम भएको छ, अन्य जिल्लाको तुलनामा नमुनारुपमा काम भइरहेको छ ।’

उनले बागलुङमा पर्ने दुईओटा पक्की पुलकोमात्र ठेक्का हुन बाँकी रहेको जानकारी दिए । लोकमार्गको बागलुङखन्डमा पर्ने १८ ओटा पक्की पुलमध्ये १२ ओटा निर्माण भइसकेका छन् ।

लब्दीखोला, निसीको भल्कोट, भीमगिठे र निसीकै चारिबाङमा निर्माणाधीन पुलको काम चालु आवमा सकिने जनाइएको छ ।

सरकारले लोकमार्गको पश्चिमखन्डलाई अबको तीन वर्षभित्र कालोपत्रे गर्ने राष्ट्रिय लक्ष्य लिएको छ ।

लोकमार्गको पश्चिमखन्डको लागि चालु आवमा सरकारले रु एक अर्ब ४२ करोड बजेट विनियोजन भएको छ ।

नुवाकोटदेखि बैतडीसम्मका १४ ओटा जिल्लामा पर्ने एक हजार ९७ किमी सडकका लागि यो बजेट छुट्याइएको हो । रासस