काठमाडौं, मंसिर २१ । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य तीव्ररुपमा अगाडि बढिरहेको छ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भीरको ३३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ ।
भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको थियो ।
कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनालाई तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले गत कात्तिक २३ गते स्थलगत अवलोकन गरी निर्देशन दिएपछि आयोजनाको कामले गति लिएको हो ।
प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमार्फत् राष्ट्रिय गौरवका आयोजनाको आफैं निरीक्षण गर्ने निर्णय गरेका छन् ।
सोही निर्णयबमोजिम माथिल्लो तामाकोसीको स्थलगत अवलोकन गर्दै तोकिएको समयभन्दा ६ महिना पहिले सम्पन्न गरे सरकारले पुरस्कृत गर्ने बताएका थिए ।
प्रवक्ता न्यौपानेका अनुसार सो आयोजनाको ८२ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।
हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका लागि सुनकोसी नदीमा डाइभर्सन बनाएर सामान ल्याउने तयारीमा आयोजना रहेको छ ।
‘विद्युत्गृहको काम पनि अन्तिम चरणमा पुगेको छ’–प्रवक्ता न्यौपानेले भने–‘आयोजना आव २०७४/७५ मा सम्पन्न हुन्छ ।’
पूर्णरुपमा स्वदेशी लगानीमा निर्माण भइरहेको सो आयोजना गत वर्षको गोरखा भूकम्प र भारतीय नाकाबन्दीका कारण ६ महिनाभन्दा बढी समय अवरुद्ध भएको थियो ।
यस्तै, प्रसारणलाइनको कुल १२७ ओटा टावरमध्ये ९६ ओटा टावरको फाउन्डेसनको काम सम्पन्न भएको छ भने आधाभन्दा बढी टावरमा तार तान्ने काम भइरहेको छ ।
सरकारले उक्त आयोजनामा सहिद परिवार र विपन्न नागरिकलाईसमेत सेयर उपलब्ध गराउने तयारी गरेको छ ।
स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्रीले सरकारको रु ११ अर्ब रकम सेयरमा बदल्ने तयारी गरेको बताएका थिए ।
अर्थ मन्त्रालयलेसमेत प्रभावकारीरुपमा अगाडि बढेका आयोजनालाई रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।
थोरैमात्रै भौतिक तथा वित्तीय प्रगति भएका राष्ट्रिय गौरवका आयोजनामध्ये हालसम्मकै उल्लिखनीय आयोजनामा माथिल्लो तामाकोसी रहेको राष्ट्रिय योजना आयोगमा प्राप्त भएको प्रतिवेदनमासमेत उल्लेख छ । रासस









प्रतिक्रिया दिनुहोस्