फाइल फोटो
रमेश गिरी (रासस)
भक्तपुर, मंसिर २१ । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युत्को प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान सुरु गरेको छ ।
विद्युत् चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता असुली गर्ने अभियान सुरु गरेको प्राधिकरणले विद्युत्लाइन काट्न थालेपछि सिंगो गाउँ नै अध्यारो हुन थालेको छ ।
प्राधिकरणको अभियानअन्तर्गत् लाइन काट्न थालेपछि नगरकोट नगरपालिका–११ र १२ मा पर्ने बेंसीटोलका १०० घरमा विगत ९ दिनदेखि अँध्यारो भएको छ ।
प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले अत्यधिक हुकिङ गरी विद्युत्चोरी गर्ने गरेको, मिटर नै नहाली विद्युत्को प्रयोग गर्ने गरेको र लामो समयदेखि विद्युत् महसुल नबुझाइ कालोसूचीमा परेका ग्राहकको विद्युत् लाइन काटिएको बताए ।
उनले भने–‘नगरकोटका बेंसीटोलका करिब १०० घरको लाइन काटिएको छ, उहाँहरुले कार्यालयमा आएर विद्युत् चुहावट नगर्ने, मिटर जडान गर्ने र महसुल बुझाउने प्रतिबद्धता गर्नुभएको छ, अब केही दिनमै पुनः लाइन सन्चालन गरिदिन्छौं ।’
उनका अनुसार कालोसूचीमा रहेका उपभोक्ताले विद्युत् महसुल बुझाउने र मिटर जडानका लागि आवेदन दिएलगत्तै बेंसीटोलमा पुनः विद्युत्लाइन सन्चालन गरिने भएको छ ।
यता, चाँगुनारायण नगरपालिका–१० खोरिया टोल र छापमा करिब १०० घरका काटिएको विद्युत्लाइन प्राधिकरणले ९ दिनपछि पुनः सुचारु गरेको छ ।
यस क्षेत्रमा पनि अत्यधिक हुकिङ गरी विद्युत् चोरी गर्ने गरेको, मिटर नै नहाली विद्युत्को प्रयोग गर्ने गरेको र लामो समयदेखि विद्युत् महसुल नबुझाइ कालोसूचीमा परेका ग्राहकको विद्युत् लाइन काटिएको थियो ।
लाइन काटिएपछि स्थानीय उपभोक्ताले विद्युत् चोरी नगर्ने प्रतिबद्धता जनाउँदै मिटर जडान गर्न आवेदन दिने र बाँकी महसुल बुझाउन थालेपछि लाइन पुनः सुचारु गरेको शाखा प्रमुख अमात्यले जानकारी दिए ।
प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत् बढी विद्युत् चुहावट हुने क्षेत्र भक्तपुर नगरपालिकाका विभिन्न टोल, नगरकोट, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा आकस्मिक अनुगमन गरी कारबाही गर्ने कार्यलाई तीव्र पारेको छ ।
यसअन्तर्गत् हालसम्म विद्युत् चुहावटमा संलग्न रहेकामध्ये ४८ जनालाई कारबाही गरी जरिवाना लगाएको र त्यसमध्ये मंसिरमामात्रै २२ जनालाई कारबाही गरिएको अमात्यले जानकारी दिए ।
विद्युत्चोरी गर्ने कारबाहीमा परेकाबाट प्राधिकरणले रु १२ लाख ६४ हजार ७७५ जरिवाना असुल गरेको छ ।
हालसम्म प्रहरी र प्रशासनको सहयोगमा प्राधिकरणले विद्युत् चुहावटमा प्रयोग भएका करिब ६०० मिटर विभिन्न तार, ९ ओटा पानी तान्न प्रयोग हुने ठूला पम्प, एकओटा डिस होम, पिठो मिस्ने मेसिनमा प्रयोग हुने मोटरसमेत नियन्त्रणमा लिएको छ ।
विद्युत् चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त बनाउन शाखाले स्थानीय युवा क्लब, राजनीतिक प्रतिनिधि र सामाजिक संस्थासँग समन्वय गर्ने भएको छ ।
हाल भक्तपुरमा ३३ प्रतिशत चुहावटलाई घटाउन सफल भएकोमा क्लबलगायत विभिन्न निकायको साथ लिँदै यस वर्षभित्रमा चुहावटलाई शून्यमा झार्ने उद्देश्यअनुसार काम भइरहेको शाखा प्रमुख अमात्यले जानकारी दिए ।
दिउँसो आफू एक्लै कसैले नचिन्ने गरी विभिन्न क्षेत्रमा गएर चुहावटको अवस्था हेर्ने र त्योलगत्तै टोली मगाएर छापा मार्ने गर्दा अझै प्रभावकारी भएको उनको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्