चितवन, चैत ९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस बलियो नभए संघीयता खतरामा पर्ने बताएका छन् ।
नेपाली कांग्रेस रत्ननगर नगर समितिले शनिबार रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले लामो संघर्षपछि प्राप्त संघीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताए ।
उनले भने–‘गणतन्त्र र संघीयता धरापमा परेको छ । त्यसको संरक्षणका लागि कांग्रेस लड्नुपर्छ ।’
मुलुकमा दन्डहिनता बढ्दै गएको बताउँदै उनले अहिलेको समयमा लगानीको वातावरण बन्न नसकेको आरोप लगाए ।
राजनीतिक स्थिरता भएपनि वित्तीय संस्था धराशायी बन्दै जानु, व्यापार घाटा बढ्दै जानु दुःखद् रहेको उनको भनाइ छ ।
फरक प्रसंगमा नेता कोइरालाले पार्टीलाई ‘गिरोह’ले सन्चालन गरेको बताए ।
उनले भने–‘राजनीतिक संस्कारसँगै नैतिकता सिकाउँदै पार्टीलाई बलियो बनाउनु आवश्यक छ ।’
कांग्रेसलाई बलियो बनाउन महासमिति बैठकको निर्णय कार्यान्वयन गर्दै समयमा महाधिवेशन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, सावित्री बोगटी पाठक, क्षेत्रीय सभापति कुमार कार्की, रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरे, उपसभापति केदार चापागाइँलगायतले बोलेका थिए ।
कार्यक्रममा महासमिति सदस्य देवराज चालिसे र दिनेश कोइरालाले प्रशिक्षण दिएका थिए । रासस









प्रतिक्रिया दिनुहोस्