काठमाडौं, मंसिर २३ । नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि लागू हुने आस्वा प्रणाली पूँजी बजारका लागि ब्रेक थ्रु हुने जनाएको छ ।
‘एप्लिकेसन सर्पोटेड बाइ ब्लकेट अमाउन्ट(एएसबीए) प्रणाली धितोपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिने प्रणाली हो । यो प्रणाली लागू भएपछि बैंकमार्फत सिधै प्राथमिक शेयरका लागि आवेदन दिन सकिनेछ ।
बोर्डले आस्वाको कार्यान्वयनका सन्दर्भमा विहिबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष डा. रेवत बहादु कार्कीले यो प्रणाली लागू भएपछि नेपालको पूँजी बजार विकसित बजारतर्फ प्रवेश गर्ने बताए ।
उनले यसबाट ‘रियल स्टेट’को सहभागिता बढ्ने र गैर आवासिय नेपालीको पनि सहज रुपमा पूँजी बजारमा लगानी आउने विश्वास व्यक्त गरे ।
उनले मुलुकको आर्थिक अवस्था एवं पूँजी बजारमा सुधार आउँदा पनि लगानीकर्ताले पूँजी बजारलाई नबुझेको बताए । हाल लगानीकर्ता आत्तिनुपर्ने कुनै कारण नरहेको पनि उनले स्पष्ट पारे ।
आस्वा प्रणाली कार्यान्वयन विषयमा कार्यपत्र प्रस्तुत गर्दै बोर्डका कार्यकारी निर्देशक परिष्ठ पौड्यालले धितोपत्र बाँडफाँडमा लाग्दै आएको ७० दिनको समयावधि घटेर बढिमा २० दिनमा झर्ने बताए ।
यसले सार्वजनिक निष्काशनको लागत कम गर्ने, प्राथमिक शेयरका लागि धाईरहनु नपर्ने, २ महिनाभित्र कारोबार गर्न सूचिकरण हुने उनले बताए ।
आस्वा प्रणालीका लागि १२ वटा बैंक तथा वित्तीय संस्थाले आवेदन दिएको र छिट्टै आवेदन स्वीकृत हुने बोर्डले जनाएको छ ।
नेपालको सन्दर्भमा यो प्रणाली नौलो भएकाले हाललाई स्वेच्छीक गरिएको र पछि अनिवार्य गरिने बोर्डले जनाएको छ । बैंक तथा वित्तिय संस्था, मर्चेण्ट बैंकर लगायत सरोकारवाला पक्षले आस्वा प्रणालीको स्वागत गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्