Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


‘तरकारीवाली’ को गाउँमा होमस्टे सुरु


0
Shares

गोरखा, मंसिर २४ । तरकारीवालीको रुपमा सामाजिक सञ्जालमा भाइरल बनेकी कुसुम श्रेष्ठको गाउँ गोरखा जिल्लाको भुम्लिचोकमा होमस्टे कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल मगर पर्यटन समाजले शुक्रबार भुम्लिचोक भैरवी होमस्टे ट्रिप कार्यक्रमको आयोजना गरेको हो । होमस्टेको प्रवर्द्धन गर्ने र पर्यटन बजारसँग प्रत्यक्ष रुपमा जोड्ने मुख्य उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको समाजका उपाध्यक्ष राजकुमार थापाले बताए ।

गोरखाको फिस्लिङबाट करिब दुई घण्टा पैदल हिडेर पुगिने सो ठाउँ प्राकृतिक तथा सांस्कृतिक हिसाबले धनी रहेको भन्दै सो ठाउँमा कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष थापाको भनाइ छ ।

शुक्रबार पर्यटन व्यवसायी, पर्यटन पत्रकार तथा अन्य व्यक्तिहरुको टोली एक रात बिताएर शनिबार फर्कने कार्यक्रम छ । भुम्लिचोकबाट माछापुच्छ्रे हिमालदेखि गौरिशंकर हिमालसम्मको हिमशृंखलाको अवलोकन गर्न सकिन्छ भने मगर र नेवार समुदायको बाक्लो बस्ती रहेको सो ठाउँमा विभिन्न लोपोन्मुख साँस्कृतिक कार्यक्रमहरु समेत हेर्न सकिन्छ ।

नेपाल सरकारले घुमफिर वर्ष मनाइरहेको सन्दर्भमा यस कार्यक्रमको आयोजना गरिएको समाजका महासचिव अनुप थापा मगरले बताए । उनले यस्तो कार्यक्रम समाजले हरेक वर्ष गर्दै आएकोमा यस वर्ष गोरखामा गरिएको बताए ।

भुम्लिचोक समुद्री सतहबाट एक हजार ६ सय ५० मिटर उचाइमा छ ।