काठमाडौं, मंसिर २४ । सरकारले विदेशी लगानीकर्तालाई लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको जानकारी गराउन सम्मेलन गर्ने भएको छ ।
उद्योग मन्त्रालयले आगामी फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन गर्ने तय गरेको हो ।
सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा भएको बैठकले मुलुकका विभिन्न क्षेत्रमा गर्न सकिने लगानीका अवसर र सम्भावनाका विषयमा केन्द्रित भइ दुईदिने लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनले राजनीतिक प्रतिवद्धतासहित प्रशासनिक एवं कानुनी संरचनाका विषयमा विदेशी लगानीकर्तालाई नेपाली लगानीका लागि सुरक्षित रहेको विश्वास दिलाउने मन्त्री जोशीले बताए ।
लगानी सम्मेलनमा सबै राजनीतिक दलका नेताले अन्तर्राष्ट्रिय समुदायलाई लगानी सुरक्षामा प्रतिवद्धता जनाउने र त्यसले अन्तर्राष्ट्रिय समुदायमाझ लगानीका लागि विश्वासको वातावरण बनाउने उनले विश्वास व्यक्त गरे ।
सम्मेलनअगावै वैदेशिक लगानीका लागि आवश्यक सबै कानुनी संरचना तयार गरिसक्ने तयारीमा मन्त्रालय रहेको उनले बताए ।
सम्मेलनका क्रममा १ अर्ब डलर बराबरको लगानी प्रतिबद्धता खोजिने मन्त्री जोशीले बताए ।
ऊर्जा तथा पूर्वाधार, सूचना तथा सन्चार–प्रविधि, पर्यटन, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि एवं उद्योगका क्षेत्रमा छलफल गरिने उद्योग मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा नेपालमा लगानी गर्दै आएका अन्तर्राष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई आमन्त्रण गर्ने तयारी मन्त्रालयले गरेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्