काठमाडौं, मंसिर २७ । सरकारले बन्द भएका उद्योग खोल्न सहयोग गर्ने भएको छ ।
उद्योग मन्त्रालयले विभिन्न कारणले बन्द भएका साना–ठूला उद्योग पुनः सन्चालन गर्न प्रस्ताव आह्वान गरेको हो ।
सोमबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका उद्योग कलकारखाना के–कति कारणले बन्द हुन पुगेको हो र के–के सहयोग भए पुनःसन्चालन गर्न सकिन्छ त्यसका लागि प्रस्ताव पेस गर्न सम्बन्धित सन्चालकहरुलाई आह्वान गरेका हुन् ।
उद्योगहरु बन्द हुनाका कारण र आवश्यक सहयोग खुलाएर प्रस्ताव पेस गर्न आह्वान गरिएको हो । सरकारले सूचना नै जारी गरेर २१ दिनको समय दिएर प्रस्ताव आह्वान गर्ने भएको हो ।
सरकार पूर्वाधार विकास, भौतिक सुविधा, नीतिगतदेखि बजारमा पहुँचका लागिसम्म सहजीकरण गर्न तयार रहेको मन्त्री जोशीले उल्लेख गरे ।
हजारौं उद्योग विभिन्न कारणले बन्द भएका छन् । प्रस्तावका आधारमा सहयोग गरेर सन्चालन गर्न सकिने उद्योगलाई सघाउने र यसको अध्ययनबाट उद्यम विकासका लागि ठोस नीतिसमेत बनाउन सहज हुने मन्त्री जोशीले बताए ।
उद्योग सन्चालकहरुले अनलाइनसमेत प्रस्ताव पेस गर्नसक्ने मन्त्रालयले जनाएको छ ।
नेपाल औषधि लिमिटेडमा आवश्यक मर्मत–सम्भार भैरहेको र खुला प्रतिस्पर्धाका आधारमा महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया अगाडि बढिरहेको र छिटै सन्चालनमा ल्याइने पनि मन्त्री जोशीले बताए ।
हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना सन्चालनका लागि पनि आवश्यक गृहकार्य भैरहेको उनले उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्