
रमेश लम्साल (रासस)
काठमाडौं, मंसिर २८ । सरकारले योजनाबद्धरुपमा विद्युत् चुहावट नियन्त्रण गर्नेतर्फ पहल गरे रु पाँच अर्ब नेपाल विद्युत् प्राधिकरणलाई फाइदा हुने देखिएको छ ।
प्राधिकरणको केन्द्रीय प्रसारणलाइनमा उपलब्ध विद्युत्मध्ये करिब २४० मेगावाट विद्युत् चोरी तथा प्राविधिक चुहावटका कारण खेर गइरहेको अवस्थामा तत्काल १० प्रतिशतमात्रै चुहावट र चोरी नियन्त्रण गर्नसके सो मूल्य बराबरको रकम बचत गर्न सकिने देखिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चोरी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सकिए प्राधिकरणको आर्थिक अवस्था मजबुत् बन्ने र विद्युत्को मूल्यबृद्धि गरिराख्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
प्राधिकरणका अनुसार १० प्रतिशतको हाराहारीमा विद्युत् चोरी हुने गरेको छ । यस्तै, १५ प्रतिशत विद्युत् प्राविधिकरुपमा नै चुहावट हुने गरेको छ ।
‘चोरी नियन्त्रण गर्नसके रु पाँच अर्ब बराबरको विद्युत् बचत हुने देखिन्छ’–उनले भने ।
चोरी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष चासो देखाइदिनुपर्ने घिसिङको भनाइ छ ।
‘प्राधिकरणका कर्मचारीले प्राविधिक काम गर्ने भएकाले सुरक्षा उपलब्ध गराउने जिम्मा गृह मन्त्रालयले लिए हामी एकाध महिनामा विद्युत् चोरी १० प्रतिशत घटाउन सक्छौं’–उनले भने ।
गृह मन्त्रालयले सुरक्षा प्रदान गरे मुलुकभर विद्युत्भार कटौतीको अन्त्य गर्न सकिने घिसिङको भनाइ छ ।
विद्युत् चोरी नियन्त्रण तथा बक्यौता उठाउने कामलाई अभियानकारुपमा अगाडि बढाउँदामात्रै करिब रु ५० करोड बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ ।
गत असोज ३ गतेबाट सुरु भएको अभियानले सकारात्मक सन्देश दिएको प्राधिकरणको भनाइ छ ।
तर, सरकारी निकायमा नै रहेको बक्यौता भने असुल गर्न सकिएको छैन । सरकारी निकायमामात्रै रु तीन अर्ब बढीको बक्यौता रहेको बताइन्छ ।
चपुर क्षेत्रमा ३६ मेगावाट माग
प्राधिकरणका अनुसार रौतहटको चन्द्रनिगाहापुर क्षेत्रमामात्रै रातको समयमा विद्युत् माग ३६ मेगावाट पुग्ने गरेको छ ।
रातको समयमा विद्युत् चोरी अत्यधिक बढेपछि स्थानीय सवस्टेसनमा लगातार ३६ मेगावाटको माग देखिने गरेको प्राधिकरणका कार्यकारी प्रमुख घिसिङको भनाइ छ ।
‘रातको समयमा सिँचाइ पम्पबाट अत्यधिक विद्युत् चोरी हुने गरेको छ । एक किलोमिटरभन्दा बढी लामो तार तानेर विद्युत् चोरी हुन्छ, सवस्टेसनमा सयौं पम्प नियन्त्रणमा लिइएको छ, तर कानुनको अभावमा चोरीकार्यमा संलग्नलाई कारबाही गर्न सकिएको छैन’–उनले भने ।
प्राधिकरणले स्थलगत अध्ययन गर्दा बिहान खेत भिजेको देखिने तर चोरीको उपकरण भने पाइँदैन । चपुर क्षेत्रमा सामान्य अवस्थामा १० मेगावाटमात्रै माग रहेको छ । रातको समयमा २६ मेगावाट विद्युत् चोरी हुने गरेको प्राधिकरणको भनाइ छ ।
यस्तै, जनकपुर क्षेत्रीय कार्यालयमामात्रै करिब ७० प्रतिशत विद्युत् चोरी हुने गरेको छ । सो चोरी नियन्त्रण गर्न लागेको प्राधिकरणको टोलीमाथि स्थानीयवासीले आक्रमण गरेको प्राधिकरणको भनाइ छ ।
अध्ययनअनुसार कुनै फिडरमा त ९० प्रतिशतसम्म विद्युत् चोरी हुने गरेको, काठमाडौंमा प्राविधिक चुहावट तीनदेखि चार प्रतिशतमात्रै रहेको छ ।
तर, भक्तपुरमा विगतका वर्षमा ६० प्रतिशतको हाराहारीमा विद्युत् चोरी हुने गरेकामा नियन्त्रण अभियान चलाउँदा हाल ३७ प्रतिशतमा झरेको छ ।
‘चोरी बढी हुने क्षेत्रमा रातभर लाइन काट्नू’
प्राधिकरणले अत्यधिक विद्युत् चोरी हुने क्षेत्रमा रातभर लाइन काट्न सम्बन्धित सवस्टेसन र फिडरलाई निर्देशन दिएको छ ।
‘माग अत्यधिक भएको क्षेत्रमा विद्युत् पुर्याउन नसकिने तर चोरी हुने क्षेत्रमा बढी विद्युत् दिने भन्ने हुन्न, त्यस्ता क्षेत्रमा तत्काल लाइन काट्नू’–प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।
विद्युत् अत्यधिक चोरी हुने क्षेत्रमा गनिएको चितवनमा भने हाल सामान्यमात्रै चोरी हुने गरेको छ । भरतपुर सवस्टेसनले चोरी नियन्त्रण अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाएपछि चोरी नियन्त्रणमा आएको हो ।
विशेष टोली खटाइन्छ : गृह
विद्युत् चोरी नियन्त्रणका लागि गृह मन्त्रालयले स्थानीय जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई विशेष परिपत्र गर्ने जनाएको छ ।
गृहसचिव लोकदर्शन रेग्मीले प्राधिकरणका कर्मचारीको सुरक्षा र चोरी नियन्त्रणका लागि बढी चोरी भएका क्षेत्रमा विशेष टोली नै परिचालन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्