
बैतडी, मङ्सिर २९ । दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्ति(विद्यालय निरिक्षक)को मङ्गलबार हिँड्दा हिँड्दै अकस्मात मृत्यु भएको छ ।
मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिए ।
प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा एक्कासि मृत्यु भएको हो । उनले भने “विद्यालय गइरहेका धामी घर नजिकै रहेको पानीको धारा नजिकै मृत भेटिएका हुन् ।”
धामीको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
जिल्ला अस्पताल दार्चुलामा शवपरीक्षणपछि आफन्तको जिम्मा लगाइसकिएको छ ।
शवपरीक्षण गरिएपनि कसरी मुत्यु भएको हो भन्ने रिपोर्ट आएपछि मात्रै पुष्टि हुने प्रहरी निरीक्षक चन्दले बताए । धामी दार्चुलाको मालिकार्जुन र गोकुलेश्वर स्रोतकेन्द्रका स्रोतव्यक्ति थिए । रासस
प्रतिक्रिया दिनुहोस्